पर्सा, ३० चैत । वीरगन्जमा अज्ञात व्यक्तिले चलाएको गोली लागी एक महिला गम्भीर घाइते भएकी छिन् । वीरगन्ज उपमहानगरपालिका– १४ पिपरा निवासी वीरेन्द्र पटेलकी २३ वर्षीय श्रीमती निलु पटेल अपरिचित व्याक्तिको गोली प्रहारबाट गम्भीर घाइते भएकी हुन् ।
देब्रे कन्चटमा गोली लागेकी निलुको स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरी उपचार भइरहेको प्रवक्ता जोशीले बताए ।
मंगलवार विहान भएको उक्त घटनाबारे निलुको श्रीमान् तथा ससुराली पक्षसँग सोधपुछ भइरहको प्रहरीले जनाएको छ । श्रीमान्लाई हाल प्रहरी निगरानीमा राखी आवश्यक अनुसन्धानलाई अगाडि बढाएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।
घाइते निलुको १८ महिनाको एक छोरा रहेको प्रहरीले जनाएको छ । निलु र उनका श्रीमान्बीच सम्बन्ध राम्रो नभएको र बेलाबेला झै–झगडा हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस