Indrenionline.com

चुलिदै एमालेमा गुटको राजनीति : ओली र नेपाल पक्षमा समानान्तर कमिटी गठन

काठमाडौं, २७ चैत । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेमा समानान्तर कमिटी बनेका छन् । एमालेमा गुटगत राजनीति अन्त्य भएको नेताहरु दावी गर्दै आएपनि वरिष्ठ नेता माधबकुमार नेपाल पक्षले छुट्टै भेलाको आयोजना गरेर समान्तर कमिटी गठन गरेका छन् ।

नेपाल पक्षले बसन्त मानन्धरको नेतृत्वको ३८ सदस्यीय काठमाडौं समानान्तर कमिटी घोषणा गरेको छ । यसअघि नै ओली पक्षको भने कृष्ण राई अध्यक्ष रहेका छन् ।

काठमाडौं जिल्ला सहइन्चार्ज सुरेन्द्र मानन्धरले अध्यक्षता गरेको समानान्तर भेला आइतवार आज नयाँबजारस्थित नेपा बैंक्वेटमा भएको हो । भेलामा नेताहरु झलनाथ खनाल, माधव नेपाल र पार्टी सचिव योगेश भट्टराई लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली पार्टी एकलौटी ढंगले सञ्चालन गरेको भन्दै खनाल र नेपालले बिधिसम्मत पार्टी सञ्चालन गर्नुपर्ने बताए । खनाल, नेपाल र भट्टराईले चाँडै पार्टीको स्थायी कमिटीले यो विषय हल गर्ने भन्दै बिधिको लडाईमा आफूहरुले साथ दिने प्रतिबद्धता जनाएका छन् । नेपालले भने रहरमा नभएर बाध्यताका कारण काठमाडौंमा समानान्तर समिति बनाएको बताएका छन् ।