काठमाडौ, २७ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल विक्री प्रकरणमा लामो समयसम्म लाभकर असुल नगरिएकाले यो सरकारले कर उठाउनकै लागि तदारुकता देखाएको बताएका छन् ।
प्रधानमन्त्रीले आवश्यक परेछ भने क्रेता र विक्रेतालाई राखेर समुचित छलफल गरी निर्णय लिइने समेत बताए । ‘विक्रेता पनि यही धर्तिमा छ, मित्रराष्ट्रकै कम्पनी हो भने उसलाई ल्याउनु हुँदैन भन्ने छैन’ उनले भने ‘राज्यले छिटोभन्दा छिटो कर उठाएर यो विषय टुंग्याउन चाहन्छ ।’
प्रधानमन्त्रीले एनसेल खरिदविक्री प्रकरणमा विक्रेतालाई लाभकर नलिइकन उम्काउने र समयमै कर नउठाउनेलाई छानविन गरी कार्वाही गरिने बताए । उनले विगतको वास्तविकता के हो सत्यतथ्य आउनुपर्छ भन्ने विषयमा सरकार गम्भिर रहेको बताए । ‘विक्रेतालाई लाभकर नलिइकन किन उम्काईयो, यो अहिले खरीद विक्री भएको हैन, हामीले ऐन कानुन अनुसार किन काम गरेनौँ, किन कर उठाउन सकेनौँ’ उनले भने ‘विगतमा के भएको हो, सत्यतथ्य आउनुपर्छ र दोषीलाई कार्वाही गर्नुपर्छ ।’
एनसेलको कर उठाउने विषयमा मन्त्रीपरिषदमा भएको अनौपचारिक छलफलको सन्दर्भमा लेखा समितिमा छलफल भएको हो । लेखा समितिले अघिल्लो अघिल्लो सरकारका पालामा १३/१३ पटकसम्म एनसेलको कर उठाउने विषयमा छलफल गरी निर्देशन गरे पनि बिक्रेता कम्पनीवाट कर असुल नगरी भगाइएको थियो । एनसेलवाट कर असुल गर्नुपर्ने तथा बिक्रेतालाई कर असुल नगरी भगाइएको विषयमा मन्त्रीपरिषदमा अनौपचारिक छलफल सुरु गरिएको बताए ।
‘मन्त्रीपरिषद कार्यालयमा निवेदन आएपछि निवेदनमाथि कानून बमोजिम आवश्यक कार्वाही गर्न मैले अर्थमन्त्रीलाई पठाएको थिएँ’ उनले भने ‘सोही विषयमा मौखिक छलफल मात्र भएको हो, उदारता वा सम्झौता गर्ने सरकारको मनसाय छैन ।’