काठमाडौँ, २६ चैत्र । करिब दुई साताअघि मात्रै आफ्नो चौथो गीति एल्बम ‘झुल्केको घाम’ सार्वजनिक गरेका गायक अशोक मुकारुङ भाग्यमानी गायक सावित भएका छन् । उनको ‘झुम्के फुली लाएर कता हो नि सानु’ बोलको गीतको म्युजिक भिडियो युट्युबमा अत्यधिक हेरिएको भिडियो मध्ये दुई नम्बर सूचीमा परेपछि उनी भाग्यमानी गायक ठहरिएका हुन् ।
स्कुले जीवनदेखि नै गीत गायनमा लागेका अशोकले जागिरे जीवनमा रहँदा पनि आफ्नो साङ्गीतिक यात्रालाई निरन्तरता दिइरहेका थिए । यसअघि उनले तीन वटा गीति एल्बम ल्याइसकेका छन् ।
सेवा इन्टरटेन्टमेन्टले बजारमा ल्याएको एल्बम ‘झुल्केको घाम’मा ‘झुल्केको घाम’, ‘झुम्के फुली लाएर कता हो नि सानु…’, ‘पानी त चिसो’, ‘तिमीबाट’, ‘धरानैकी सोल्टिनी’, ‘पिरती भाका’, र ‘पिखुवा खोला’ समेत सात गीत समेटिएका छन् । गंगाराज मुकारुङ, गौरव गुरुङ, वसन्त थाम्सुहाङ र तुलसी बस्नेतका शब्दका साथै वसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ र सुमन राईको सङ्गीत रहेको छ ।