काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेशी मोर्चालेसमेत समर्थन गर्नसक्ने संविधान संशोधनको नयाँ प्रस्ताव मस्यौदा तयार पारिएको जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीले मधेशी मोर्चासहित सबै शक्ति स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै बैशाख ३१ मै निर्वाचन सम्पन्न हुन्छ भन्नेमा अब कुनै प्रश्न बाँकी नरहेको स्पष्ट गर्नु भयो । उहाँले निर्वाचनलाई जनताले स्विकार गरिसकेको बताउँदै १९ बर्षपछि फरक संरचनामा हुन लागेको स्थानीय तहको निर्वाचन राष्ट्रिय एकता र सहमतिका साथ उत्सवमय वातावरणमा हुने दृढता व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीले विज्ञान र प्रविधिको विकाससँगै संचार क्षेत्रको सख्यात्मक मात्रै नभई गुणात्मक परिवर्तन भएको बताउँदै यसले राजनीतिक चेतना र सामाजिक जागरण बढाएको औल्याउनु भयो । प्रधानमन्त्रीले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा देश र जनताका लागि निकै गम्भिर भएर एक दिन आरामसम्म नगरेर काम गरेको बताउँदै विकासका योजनालाई गति दिनका लागि सँधै घचघच्याउने काम गरेको बताउनु भयो ।
प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बने यता भएके सकारात्मक पहलस्वरुप अहिले झण्डै ६ प्रतिशत आर्थिक बृद्धि हुन सकेको तथा दिनको अठार बीस घण्टाको लोडसेडिङ हटेर अव केही बर्षमै नेपालले बिदेशीलाई बिजुली बेच्ने अवस्था सिर्जना हुन लागेको जानकारी दिनु भयो ।
प्रधानमन्त्रीले अगाडि भन्नुभयो ‘रोकिएका हुलाकी राजमार्ग निर्माण भैरहेको छ, उत्तर र दक्षिणतिरबाट रेल ल्याउने गरी काम सुरु हुँदैछ। नेपालमै रोजगारी सिर्जना हुँदैछ । महाकालीमा पुल बन्दैछ, ठूल ठूला विकासका आयोजनाहरु गतिका साथ अघि बढेका छन् । यसरी राजनीतिक स्थिरता बनाएर ५ वर्ष एउटा सरकारलाई कामगर्न मौका दिने हो भने, मुलुकको विकासको लागि काम गर्न सकिन्छ ।’
प्रधानमन्त्रीले आफ्ना भारत र चीनको भ्रमणमा छिमेकीसँग असल सम्बन्ध निर्माणको लागि काम गरेको बताउँदै आफूले नेपालको राष्ट्रियता र स्वाधिनतालाई केन्द्रविन्दुमा राखेर सुमधुर सम्वन्ध कायम गरेको प्रष्टाउनु भयो । प्रधानमन्त्रीले राष्ट्रिय एकतामार्फत् परिवर्तनलाई संस्थागत गर्ने र विकास र सम्वृद्धिमार्फत् समाजवादको आधार निर्माण गर्ने कार्यमा आफू लागि परेको स्पष्ट गर्नु भयो ।