Indrenionline.com

पशुपतिमा बाँदर आतंक रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं २५ चैत । सर्वोच्च अदालतले पशुपतिनाथलगायत धार्मिक र साँस्कृतिक स्थलमा बाँदरको आक्रमण रोक्न विहीबार सरकारका निकायलाई अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पशुपति क्षेत्र विकास कोष, स्वास्थ्य मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको हो।

बाँदरको संक्रामक रोगका कारण आराध्यदेव पुशपतिनाथलगायतका धार्मिक स्थलको दर्शन गर्न आउने भक्तजनको सुरक्षा संवेदनशिल बनेको भन्दै रोक लगाउन मागसहित अधिवक्ता मधुर पाठकले रिट दिएका थिए। पशुपतिनाथ, गुहेश्वरी, दरबार क्षेत्र, स्वयम्भुनाथ, बौद्ध जस्ता धार्मिक स्थलमा बाँदरले लुगा च्यात्ने, कोपर्ने, सामाग्री लुट्ने, पुजाआजामा बाधा व्यवधान उत्पन्न गरे पनि सरकारका निकाय उदाशिन देखिएको भनाई रिटमा थियो । आजको अन्नपूर्ण पोष्टमा खबर छ । बाँदरका कारण मानिसमा खतरनाक रेबिज, एड्स र क्यान्सर रोगको संक्रमण फैलिनसक्ने अबस्था देखिएकाले नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न उनको माग थियो ।

सर्वोच्चले बाँदरको आक्रमण रोकेर मानव स्वास्थ्य रक्षाका लागि आबस्यक उपाय अबलम्बन गर्न, बाँदरको ज्यादतीमा सजगता अपनाउन र भक्तजनको सुरक्षामा उचित व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको हो । सम्मानपूर्वक बाँच्न पाउने हक, धार्मिक स्वतन्त्रता, स्वच्छ वातावरण र स्वास्थ्यको हक कुण्ठित भएको जिकिरसमेत उनको छ ।