काठमाडौ २४ चैत । मिति नजिकिँदै गए पनि मधेस केन्द्रित दलको विरोधका कारण निर्वाचन आयोगले २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोक्न नसक्दा तोकिएकै मितिमा निवार्चन सम्पन्न गर्न बाधा उत्पन्न भएको छ । २ नम्बर प्रदेशसहित सबै क्षेत्रको मतदाता नामावलीले अन्तिम रूप पाई मतदाता परिचयपत्र छपाइको काम अघि बढिरहे पनि मतदान केन्द्र तोक्न नसक्दा आयोग अप्ठ्यारोमा परेको छ ।
प्रमुख आयुक्त यादवको नेतृत्वको आयोग टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पटकपटक भेट गरी २ नम्बर प्रदेशमा निर्वाचनका लागि राजनीतिक र सुरक्षाको वातावरण बनाउन आग्रह गरिसकेको छ । ‘सुरक्षा दिने काम सरकारको हो, हामीले प्रधानमन्त्रीसँग २ नम्बर प्रदेशमा निर्वाचन गतिविधि सञ्चालन गर्न भइरहेको अप्ठ्यारोबारे जानकारी गराएका छौं’, आयोगका अर्का एक आयुक्तले भने ।
झण्डै २१ हजार मतदान केन्द्रको अनुमान गरेको आयोगले २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न नसक्दा यकिन तथ्यांक बताउन सकेको छैन । आयोगले देशैभर ७५ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ६९ जना मतदान अधिकृत तोकिसकेको छ । अन्नपूर्ण पोष्टमा खबर छ । उनीहरूका लागि चैत २८ र २९ गते तालिम दिएर गाउँपालिका र नगरपालिकामा पठाउने तयारी गरे पनि २ नम्बर प्रदेशमा केन्द्र नतोकिँदा मतदान अधिकृतलाई कहाँ गएर काम गर्ने भन्ने अप्ठ्यारो आउने आयोगका अधिकारी बताउँछन् । ‘२ नम्बर प्रदेशको राजनीतिक विषय छिटो समाधान होस् भन्ने पक्षमा आयोग छ’, आयोगका एक अधिकारीले भने ।