महोत्तरी, २३ चैत । महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौन शोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा श्री जनता माध्यमिक विद्यालयका शिक्षक रामदुलार साह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए।
छात्रामाथि यौनशोषण गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक शम्भु पोख्रेलको नेतृत्वमा गएको प्रहरी टोलीले बन्द गरेको कोठा खोल्न लगाई ती छात्रालाई उद्धार गरेको थियो। छात्राको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताए।
पीडित छात्रालाई यसअघि पनि शिक्षक साहले पटक÷पटक एक्लै बोलाएर ट्युसन पढाउने बहानामा यौन शोषण गरेको स्थानीयवासी बताउँछन्।
बुधबार पीडित छात्राको परिवारजनबाट शिक्षक साह विरुद्ध इलाका प्रहरी कार्यालय गौशालामा उजुरी पनि परेको छ। प्रहरीले शिक्षक साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइसकेको जनाइएको छ। रासस