Indrenionline.com

स्थानीय तहको निर्वाचन हुनुनै माओवादीको जितः प्रधानमन्त्री

काठमाडौं, २२ चैत। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताउँदै स्थानीय निर्वाचन हुनु नै माओवादी केन्द्रको जित हुने बताएका छन् ।

आज दिउसो पेरिसडाँडाँमा आदिवासी जनजाति राष्ट्रिय महासंघ, नेपाल ३ नं प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका संघियता, गणतन्त्र, लोकतन्त्र, समावेशिता, समानुपातिक सहभागिता, धर्म निरपेक्षतासहितका एजेण्डाहरु नयाँ संविधानमार्फत् संस्थागत गरिएको बताउँदै संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नुपर्ने आवश्यकतामा जोड दिए ।

उनले संघियताको जग बसाल्न निर्वाचन जरुरी भएको बताउँदै परिवर्तनका उपलब्धी जोगाउन चाहने सबै स्थानीय निर्वाचनमा सहभागी बन्नुपर्नेमा जोड दिए । परिवर्तनका एजेण्डा खोस्न चाहनेहरुले मात्र निर्वाचन नचाहने भन्दै प्रधानमन्त्रीले सबै परिवर्तनकारीहरुलाई एकतावद्ध भएर निर्वाचनमा होमिन आग्रह गरे ।

प्रधानमन्त्रीले अहिले जे जति उपलब्धी हासिल भएका छन्, ती सबै माओवादीकै एजेण्डा भएको र माओवादी नेतृत्वको संघर्षवाट प्राप्त भएको बताउँदै यी सकारात्मक उपलब्धी रक्षा र संस्थागत गर्ने दायित्व पनि माओवादीकै भएको प्रष्ट पारे । उनले माओवादीहरुको एकतामा जोड दिँदै अहिले माओवादी पार्टी देशभक्त र जनपक्षीय शक्ति हो भन्ने कुरा राम्रैसँग पुष्टि हुन पुगेको बताए ।