काठमाडौं, २१ चैत । नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले हिजो आइतबार आफूले लगाएको नारामा बेहोसीपूर्वक र आवेशमा आएको वेला गल्ती गरेको बताएकी छिन् । त्यो भएकोमा उनले माफिसमेत मागेकी छिन् ।
यमीले देशलाई अपमान र आघात पर्नेगरी बोल्न खोजेको नभई आवेस र अर्धचेतकै अवस्थामा चिच्याउदा नारामा गलत उच्चारण भएको बताएकी छिन् ।
यमिको विज्ञप्ति यस्तो छः
प्रिय पत्रकार मित्रहरु, आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु!
चैत २० गते नयाँ शक्ति पार्टीले आयोजना गरेको अन्दोलनको क्रममा मैले हाम्रो प्यारो देशलाई अपमान र आधात पर्नेगरी बोलेको भन्ने सम्बन्धमा आएका समाचार र प्रतिक्रियाप्रति मेरो ध्यानाकृष्ट भएको छ। यसै बिषयलाई लिएर विनम्रतापूर्वक स्पष्टीकरण दिन चाहन्छु।
यही चैत २० गते हाम्रो पार्टी नयाँ शक्ति पार्टी, नेपाल लगायत ६३ दलहरुले हालै जारी गरिएको स्थानीय तह निर्वाचन ऐन २०७३ मा संसदबाहिर रहेका दलहरुलाई निर्वाचन चिन्ह नदिने व्यवस्था गरिएको विरोधमा निर्वाचन आयोग समक्ष धर्ना दिने कार्यक्रम राखेका थिए। सो कार्यक्रममा पार्टीको काठमाडौं जिल्ला उत्प्रेरकको हैसियतले म विहानैदेखि सक्रिय थिएँ। धर्नास्थल र त्यसतर्फ जाने बाटोलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकाले कार्यक्रमको शुरुदेखि नै प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल चलिरहेको थियो। धर्नाको नेतृत्वपंक्तिमै रहेकाले म पनि त्यो धकेलाधकेलमा परें। झण्डै एक घण्टाजतिको सकस र ठेलमठेलमा म अर्धमुर्छित जस्तै हुन पुगेछु। त्यो वेला मेरा पति डा. बाबुराम भट्टराई लगायत अन्य साथीहरुले मलाई सम्हालेर राख्नुभएको थियो। त्यसैबीच सुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे। म त्यो वेला आवेस र अर्धचेतकै अवस्थामा थिएँ। तीब्र आवेसमा म चिच्याउँदै नाराबाजी गर्न लागेछु। त्यसैक्रममा मैले स्थानीय निर्वाचन ऐनको ‘यो आदेश खारेज हुनुपर्छ’ भन्न खोज्दा वेहोशीपूर्वक अन्यथा हुनपुगेछ। म जनजाति समुदायकी छोरी भएकोले मेरो नेपाली भाषामा राम्रो दखल छैन। त्यसैले आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको हुँ। पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस गरें।
म आजीवन देश र जनताको निम्ति समर्पित हुँदै आएकी छु। मेरो सम्पूर्ण परिवार नै देशको हितमा राजनीतिक आन्दोलनमा सहभागी हुँदै आएको छ। हाम्रा वीर पुर्खाहरुले आर्जेको र जोगाएर राखेको यो स्वाधीन र सार्वभौम देश नेपाललाई म असाध्यै माया गर्छु। हाम्रो देश छ र नै त हामी नेपाली भनेर गर्वका साथ बाँचेका छौं। त्यसैले यो पवित्र मातृभूमिका विरुद्ध कुनै पनि अपमानजन्य कुरा म बोल्न त के सोच्न पनि सक्दिनँ। तर त्यो परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो प्यारो देशका विरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए सोप्रति म अत्यन्त दु:खित छु। म अन्तरहृदयैदेखि यसवापत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुसँग क्षमायाचना गर्दछु। मलाई भाषागत कमजोरी देखाई सचेत गर्ने सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा आफ्ना अभिव्यक्तिहरुमा पूर्ण सचेत रहने प्रतिवद्धता व्यक्त गर्दछु।
२०७३ चैत २१
हिसिला यमी, संयोजक, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, नयाँ शक्ति पार्टी, नेपाल