काठमाडौं, २० चैत । नयाँ र साना दलले पनि मतपत्रमा आआफ्नो दलको चुनाव चिह्न माग गरिरहेका बेला निर्वाचन आयोगले भने संसद्मा रहेका दललाई मात्र त्यस्तो सुविधा दिएर मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्याएको छ ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले शनिबारसम्म कम मतदाता भएका ५५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी दिए । आयोगले अब काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरलगायत धेरै मतदाता भएका २० जिल्लाको मतपत्र छाप्ने काम अघि बढाउने उनले बताए । ुदुर्गम हिमाली र पहाडी जिल्लाको मतपत्र छाप्ने काम सम्पन्न गरेर अब धेरै मतदाता भएका जिल्लाको काम सुरु गर्दैछौुं, उनले भने, ुदुर्गम र पहाडी जिल्लामा मतपत्र ढुवानीमा समय लाग्ने भएकाले ती जिल्लाको मतपत्र पहिलो चरणमा छापिएको हो ।
आयोगले करिब १ करोड ४० लाख मतदाताका लागि १ करोड ५५ लाख मतपत्र छाप्दैछ । केही बिग्रने, च्यातिने र केहीमा दोस्रो चरणको पनि मतदान हुनसक्ने भएकाले १५ लाख बढी मतपत्र छापिने आयोग पदाधिकारी बताउँछन् ।
आयोगले मतदाता नामावली आइतबार अन्तिम रूप दिने तयारी गरिरहेकाले त्यसपछि मात्र मतदाताको संख्या यकिन भन्न सकिने जानकारी आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले दिए । आयुक्त दाहालले वैशाख ५ गतेसम्म मतपत्र छाप्ने काम सम्पन्न गरेर वैशाख १५ बाट जिल्लामा पठाउने तयारी भइरहेको बताए ।
निर्वाचनका लागि आवश्यक अन्य सामग्रीसँगै मतपत्र पनि जिल्ला पठाइने उनले बताए । वैशाख ५ भित्र मतपत्र छाप्ने काम सम्पन्न भए पनि नम्बरिङ र प्याकिङ गर्न थप केही दिन लाग्ने र त्यसपछि दुर्गम र हिमाली जिल्लामा मतपत्र पठाउन सुरु गरिने जानकारी प्रवक्ता शर्माले दिए । अन्नपूर्ण पोष्टबाट