दाङ, १६ चैत । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति विपुल पोख्रेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथी आघात पुग्ने कुनै पनि ऐन नियम अस्वीकार्य भएको बताएका छन् । सञ्चार माध्यमले सस्यौदा गरेको सुसासन तथा व्यवस्थापन सम्बन्धि ऐनमाथी संकेत गर्दै पोख्रेलले अनलाइन पत्रकारितालाई संकुचन गर्ने गरी आउने ऐन कानूनका बिरुद्धमा नेपाली पत्रकारिता क्षेत्रले शसक्त आवाज उठाउनु पर्ने बताए । ‘पत्रकारितालाई बलियो बनाई पत्रकारहरुका पेशागत सुरक्षाको सुनिश्चित गर्ने सन्दर्भमा बनेको श्रमजीवी ऐन कार्यान्वयनमा सरकार उदासिन देखिएको छ’ उनले भने, ‘फेरि अर्को ऐन बनाएर अनलाईन पत्रकारितालाई कमजोर र जटिल बनाउने सरकारको चरित्रले राज्य स्वतन्त्र प्रेसका सन्दर्भमा अनुदार देखिएको प्रष्ट भयो ।’
‘नेपाली पत्रकारिता कानूनको अधिनमा रही प्रेस स्वतन्त्रतासंग संझौता गर्ने चरित्रको छैन’ उनले भने, ‘यो क्षेत्रले समाजप्रतिको आफ्नो बहुआयामिक दायित्वबोध गरेर स्वच्छन्दतामा विचरण गराउने हैसियत निर्माण गर्दै गएको छ ।’ यद्दपि पत्रकारिता भित्रका केही चरित्रहरुप्रति नागरिकको गुनासो रहदै आएको स्वीकार्दै पोख्रेलले भने,‘हामी पत्रकारहरु थप जिम्मेवार हुन र पत्रकारलाई जिम्मेवारीबोध गराउन पत्रकार महासंघले भूमिका खेल्न आबश्यक छ ।’ उनले श्रमजीवी ऐन र न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको व्यबस्था तथा सिफारिसको पूर्ण कार्यान्वयनको वातावरण निर्माण गर्न तर्फ पनि पत्रकार महासंघले थप प्रभावकारी भूमिका खेल्न आबश्यक रहेको बताए । ‘यति भयो भने पत्रकारिता भित्रका बिकृत पक्ष त्यसै ओझेलमा पर्दै जानेछन्’ उनको तर्क थियो ।