Indrenionline.com

वैद्य माओवादी पनि चुनावी मैदानमा आउने तयारीमा

काठमाडौं, १५ चैत । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा भाग लिने अन्तिम तयारीका साथ पार्टीभित्र छलफल अगाडि बढाएको छ ।

संविधानसभाको दोस्रो निर्वाचन बहिष्कार गरेको वैद्य नेतृत्वको माओवादीले संविधान जारी भएपछि पनि नयाँ संविधानको विरोध गर्दै आएको छ । पछिल्लोपटक भने उसले पार्टीको नामबाट भन्दा पनि मोर्चाको नामबाट निर्वाचनमा सहभागी हुने गरी छलफल अगाडि बढाएको हो । वैद्य माओवादीले स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगसँग छलफल गरेर मोर्चाको नामबाट एउटै चुनाव चिह्न प्रदान गर्न माग गर्ने भएको छ । पार्टीले एउटै चुनाव चिह्न नपाएको खण्डमा स्वतन्त्र रूपमा भए पनि स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने गरी माओवादीले गृहकार्य अगाडि बढाएको छ ।

राजधानीमा सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको विस्तारित बैठकमा अध्यक्ष वैद्यले अहिलेको अवस्थामा स्थानीय तह स्थानीय सरकार भएकाले त्यसभन्दा बाहिर बस्न उचित नहुने भएकाले पार्टीको तर्फबाट स्वतन्त्र रूपमा भए पनि उम्मेदवारी दिएर सहभागिता जनाउनुपर्ने प्रस्ताव राखेका छन् । राजधानीमा खबर छ । उनले अहिलेको संविधान पश्चगामी भएको र संविधानको भण्डाफोर गर्नुपर्ने भए पनि स्थानीय तहको निर्वाचन बहिष्कार गर्दा जनतासँगको सम्बन्ध टुट्ने भएकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

‘चुनावमा भाग लिनुको अर्थ अहिलेको सिंगो संविधान र व्यवस्थालाई स्वीकार गर्नु होइन’ वैद्यले बैठकमा भने, ‘यो संविधान जनविरोधी छ भनेर जनतामा लैजाने हो, निर्वाचनलाई यसैको माध्यमका रूपमा प्रयोग गरेर जान सकिन्छ ।’