Indrenionline.com

स्थानीय निर्वाचनका लागि चीनले १४ करोड सहयोग गर्ने

बेइजिङ्, १५ चैत । स्ूथानीय तहको निर्वाचनका लागि चीनले ९ मिलियन चिनियाँ युआन ( झन्डै १४ करोड नेपाली रुपैयाँ) उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटमा सीले यस्तो घोषणा गरेका हुन् ।

सोमवार भएको भेटमा धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको वता प्रधानमन्त्री प्रचण्डले बताएका छन् । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउसो भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्रीले बताए ।

भेटमा प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिवाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको बताए । नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ । राष्ट्रपतिसँगको छलफलमा नेपाल र चीनबीच दुई देशीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो ।