काठमाडौँ, १४ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा जुनसुकै पार्टीले सरकार बनाए पनि ‘एक चीन नीति’ प्रति नेपाल र नेपाली जनता प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको भौगोलिक तथा सांस्कृतिक रुपमा दरिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिए ।
नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको नेपाली जनताले हेर्न चाहेको बताए ।
सो अवसरमा नेपालको एक चीन नीतिप्रति आभार व्यक्त गर्दै उपप्रधानमन्त्री याङले संविधान कार्यान्वयन एवम् शान्ति प्रक्रियालाई पूरा गर्न सबै राजनीतिक दल मिलेर अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए ।
उनले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक समृद्धि र विकासका लागि चीन र चिनीया जनताका तर्फबाट निरन्तर सहकार्य हुने विश्वास दिलाएका थिए ।
त्यसैगरी इन्टरनेसनल लेइजन विभागका प्रमुख ताओले सदियौँदेखिको दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्दै लैजाने र त्यसका लागि नेपालको समृद्धिको बाटोमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस