काठमाडौँ, १३ चैत । नेपाली काँग्रेसको आज आइतवारदेखि सानेपामा शुरु भएको केन्द्रीय समितिको बैठकले ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ। महाधिवेशन भएको एक वर्षपछि कार्यसम्पादन समिति गठन भएको हो ।
काँग्रेसका आन्तरिक पार्टी जीवनमा कार्यसम्पादन समितिलाई पदाधिकारीपछिको शक्तिशाली समिति मानिन्छ। केन्द्रीय समिति र संसदीय दलमा झै केन्द्रीय कार्यसम्पादन समितिमा पनि सभापति देउवा स्पष्ट बहुमतमा रहेका छन्।
सभापति देउवाले आफ्नो पक्षका धेरै नेताहरुलाई कार्यसम्पादन समितिमा लगेका छन् भने नेता शेखर कोइरालालाई भने कार्यसम्पादन समितिमा लगेका छैनन्। स्वास्थ्यका कारण हाल निष्कृयजस्तै रहेका नरहरी आचार्यभने समितिमा परेका छन्। २९ सदस्यीय कार्यसम्पादन समितिमा सभापति देउवा पक्षका १६, पौडेल पक्षधर ९ र सिटौला पक्षधरमा उनी एक्लै रहेका छन् भने पदाधिकारीले पूर्णता नपाएका कारण ३ जनाको रिक्त रहेका छन्।