दाङ, १३ चैत । नेपालका विभिन्न ११ जना साहित्यकारहरुले संयुक्त रुपमा लेखेको विश्वकै पहिलो संयुक्त महाकाव्यको विमोचन दाङमा गरिने भएको छ । दाङकी साहित्यकार बुनु लामिछाने लगायतले लेख्नुभएको महाकाव्य ‘जियालो’को विमोचन आगामी बैशाख २ गतेका दिन घोराहीमा गरिने भएको हो ।
बैठकले संयोजक पुरुषोत्तम खनालको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ भने सम्मान पत्र तयार पार्नका लागि उत्तमकृष्ण मजगैया र नारायण नेपाललाई जिम्मेवारी दिएको छ । महाकाव्य विमोचनका लागि नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद कोइरालालाई अनुरोध गर्ने निर्णय गरिएको कार्यक्रम तयारी समितिका सदस्य तथा प्रलेस दाङका अध्यक्ष शरद अधिकारीले जानकारी दिनुभयो ।
बैठकमा संयोजक खनालले विश्वमै पहिलो पटक संयुक्त रुपमा लेखिएको महाकाव्य विमोचनको अवसर दाङले पाउनु आफैमा ऐतिहासिक विषय भएकाले विमोचन कार्यक्रम गर्न थालिएको जानकारी गराउनुभएको थियो । महाकाव्यको विमोचन दाङमा गरेपछि नेपालका अन्य १० स्थानमा पनि समिक्षा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।