Indrenionline.com

रुकुममा १४ प्रतिशत मात्र विकास बजेट खर्च

रुकुम, १२ चैत । रुकुममा १४ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । चालू आर्थिक वर्ष २०७३/७४ को ९ महीनामा उक्त विकास बजेट खर्च भएको जिल्ला समन्वय समिति (जिसस) रुकुमले जानकारी दिएको छ ।

पूँजीगत बजेटतर्फ कुल बजेट १४ करोड ७३ लाखमध्ये २ करोड १ लाख ६ हजार ३२ रुपैयाँ खर्च भएको जिससका सहलेखापाल केदार शर्माले जानकारी दिए । उनले भने, ‘पूँजीगततर्फको बजेट हालसम्म १४ प्रतिशत बजेट मात्र खर्च भएको छ ।’ जिससका अनुसार चालू आवमा चालू खर्चतर्फ भने ३८ प्रतिशत रकम खर्च भएको छ ।

चालूतर्फ कुल बजेट ५३ करोड ४३ लाख २० हजार ३ सय ६३ रुपैयाँमध्ये २४ करोड १९ लाख १० हजार ९ सय ४९ रुपैयाँ खर्च भएको छ । अभियानमा अबर छ । जिल्लामा चालू आवमा जम्मा बजेट ६८ करोड १६ लाख २० हजार ३ सय ६३ रुपैयाँको अख्तियारी आएको स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

जिल्लाका ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम, स्थानीय यातायात पूर्वाधार, झोलुङ्गे पुल, स्थानीय सडक र साना सिँचाइ आयोजनातर्फको बजेट न्यून खर्च भएको हो । अन्तरजिल्ला जोड्ने सडकको कामसमेत हुन नसक्दा विनियोजित बजेट पनि खर्च हुन नसकेको जिससका सूचना अधिकृत चिन्तामणि दाहालले बताए । उनले भने, ‘योजना सम्पन्न सम्झौता भए पनि काम सम्पन्न नभएका कारण विकास बजेट खर्च न्यून देखिएको हो ।’ पछिल्लो समय स्थानीय निकाय भङ्ग र नयाँ संरचनाको कार्यान्वयनका कारण बैङ्क खाता रोक्का भएकाले कतिपय योजनाको भुक्तानी हुन नसकेको उनको भनाइ छ ।