काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा आज छलफल भएको छ ।
प्रधानमन्त्री दाहालले राखेको उक्त विषयमा सहमति जनाउँदै चीनका उपप्रधानमन्त्री झाङले नेपालको आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालले अपनाउँदै आएको एक चीन नीतिप्रति आभार व्यक्त गर्दै उनले पछिल्लो समयमा नेपालमा नयाँ संविधान जारी भएकामा खुसी प्रकट गरेका थिए । चिनियाँ उपप्रधानमन्त्रीले नेपालमा देखिएका समस्या नेपाली राजनीतिक दल एकापसमा मिलेर सल्टाउन सक्षम भएको पनि स्पष्ट पारे।
उनले नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकाले आगामी दिनमा चीनले नेपालको ऊर्जा, रेल एवम् पूर्वाधारका क्षेत्रको विकासमा सहयोग गर्ने विश्वास दिलाए। प्रधानमन्त्री दाहालले बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ । शनिबार नै उनी बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्नेछन् ।। रासस