Indrenionline.com

गुरिल्ला हिड्ने ती डाँडापाखा

durga
दुर्गालाल केसी

२०५२ साल फागुन १ गते माओवादीले युद्धको घोषणा गरेपछि रुकुम र रोल्पाको चर्चा एकाएक चुलियो । रुकुमको आठविसकोट, रोल्पाको होलेरी, गोर्खा र सिन्धुलीका केही प्रहरी चौकीमाथि आक्रमण गरेर शुरु गरेको युद्धले दश बर्षमा रुकुम र रोल्पाका अधिकांश गाउँहरुलाई बिश्वसामु चिनाइदियो । युद्धकालमा लड्ने अधिकांश लडाकुहरु यहींबाट जन्मिए र युद्धको धेरै सास्ती पनि यहींका जनताले भोगे ।

युद्धको त्यही इतिहास बोकेका भिरपाखाहरुलाई अहिले गुरिल्ला ट्रेकिङ स्थल बनाउन खोजिएको छ । माओवादीले युद्ध गर्ने क्रममा उसका गुरिल्ला अर्थात लडाकुहरुले प्रायजसो प्रयोग गर्ने गरेको बाटोमा हिड्नु नै गुरिल्ला ट्रेकिङ हो । एक दिन मलाई पनि यो बाटोमा हिड्ने भोक जाग्यो । माओवादी लडाकुहरुले निकै कठिनाता साथ हिडेका भिरपाखा छिचोल्न मन लाग्यो । अनि पत्रकारका सबै खरखजाना बोकेर लागियो रुकुम रोल्पाको १५ दिने गुरिल्ला ट्रेकिङ्ग अर्थात पैदल यात्रामा ।

गुरिल्ला हिडेको बाटोबाटै हिडेर युद्धकालका अबशेषहरु हेर्न पाइने गरी यो ट्रेकिङको तयारी गरिएको छ । माओवादी लडाकुहरुले यहाँका निकै कठिन बाटाहरु प्रयोग गरेका छन्, घना जंगलमा हिडेका छन्, विकट बस्तीहरुमा शेल्टर लिएका छन् । ती सबै स्थलहरु खोजी गर्ने रहरका साथ जेठको अन्त्यतिर उकालो लागियो । रुकुमको मुसिकोटबाट मध्यपहाडी राजमार्गको एक छेउ छोएर पूर्वतिर पैदल यात्रा थालियो ।
१० बर्षसम्म युद्धले थिलोथिलो पारेका गाउ“बस्तीलाई अब पर्यटनमार्फत विकास गर्ने योजना कसरी बन्न सक्छ ? यसलाई युद्ध पर्यटनका रुपमा कसरी परिचित गराउन सकिन्छ ? युद्धकालभरी राज्य र माओवादीका तारो बनेका ती बस्तीका जनता के भन्छन् ? माओवादीहरु युद्धकालमा कती कठिन यात्रामा थिए ? जनताले कतिसम्मको त्याग र बलिदान गरेका थिए ? यी र यस्तै प्रश्नहरुको भारी बोकेर चौखाबाङ, चुनबाङका जंगलतिर चढ्न थालियो ।

रुकुम र रोल्पा प्राकृतिकरुपले पनि सुन्दर जिल्ला हुन् । भौगोलिक विकटताका वावजुद सुन्दर हिमाल, उच्च पहाडी फाँटहरु, परम्परागत संस्कृती, भेषभुषा र ताल तलैयाहरुका कारण पनि यहाँका गाउँहरु पर्यटकीय गन्तव्य बन्न सक्छन् । तर युद्ध पर्यटनले प्राकृतिक सुन्दरताभन्दा देशकै भिन्न बिशेषतामार्फत रुकुम रोल्पालाई चिनाउन खोजेको छ ।

रुकुम र रोल्पा युद्धका पर्याय बने । युद्धकालमा यहाँका मानिसलाई शहर झर्न निकै कठिन हुन्थ्यो । घर रुकुम या रोल्पा भन्यो भने सुरक्षाकर्मीको निशाना बन्नुपथ्र्यो । गाउँघरहरु माओवादी शेल्टर थिए, जसका कारण सरकारी सुरक्षाकर्मीको निशाना पनि तिनै गाउँ थिए । धेरै गाउँहरुमा ठूला ठूला भिडन्त भए, गाउँ जले, सयौंले ज्यान गुमाए, हजारौं वेपत्ता र बिस्थापित भए । जुन युद्धका कारण यहाँ“का नागरिकले दुःख पाए, रुकुम रोल्पालाई चिनायो त्यही युद्धलाई पर्यटक आकर्षित गर्ने माध्यम बनाउने कुरा नै युद्ध पर्यटन हो ।

१० बर्षसम्म माओवादीले सबैभन्दा सुरक्षित ठानेको र युद्धका महत्वपूर्ण गोप्य गतिबिधि भएकोक्षेत्र नै रुकुम रोल्पा भएकाले यी क्षेत्रमा स्वाभाविकरुपमा युद्धसंग सम्बन्धित धेरै अवशेषहरु देख्न सकिन्छ । विकट गाउँमा माओवादीका महत्वपूर्ण बैठक बसेका छन्, माओवादीका शिर्ष नेताहरु बास बसेका छन्, ठूला ठूला सैन्य तालिम र आक्रमणहरु भएका छन् । भारतबिरुद्ध लड्ने भन्दै बंकर खनिएका छन् । हतियार संग्रह गरिएका छन् । युद्धकालमा माओवादीले समानान्तर सरकार गठन गरे, छुट्टै पाठ्यक्रम विकास गरेर जनवादी बिद्यालय सञ्चालन गरे, जनकम्युन शुरु गरे । युद्धको झल्को दिने खालका यि सबै कुरालाई गुरिल्ला ट्रेकिङका क्रममा अध्ययन अवलोकन गर्ने महत्वपूर्ण अवसर मिल्यो ।

गुरिल्ला ट्रेकिङका क्रममा माओवादी युद्धका मुख्य आधार इलाका गाउँहरु खोजी खोजी बास बसियो । माओवादीले युद्धकालमा स्वेदशमा पहिलो केन्द्रीय समिति बैठक गरेको ठाउँ हो रोल्पाको थबाङस्थित फुन्टिबाङ गाउँ । २०६१ साउन २४ देखि १० दिनसम्म फुन्टिबाङस्थित सत्यप्रकाश बुढाको घरमा माओवादीले बैठक सम्पन्न गरेको थियो । त्यही घरमा पुगेर सिस्नो र ढिडो खाइयो । यसअघिका बैठक भारतमा हुने गरेका थिए । यही बैठकबाट बाबुराम भट्टराइ र पुष्पकमल दाहालको दूरी बढेको थियो । उक्त बैठकबाट माओवादीले रणनीतिक प्रत्याक्रमणको रणनीति पारित गरेको थियो । बैठक भारतबिरुद्ध आक्रामक हुँदै  ‘राष्ट्रियता’ को मुद्धालाई प्रमुख बनाउने कुरामा केन्द्रीत भएको थियो ।

दाहालले राजास“ग मिलेर भए पनि भारतबिरुद्ध लड्ने रणनीति अघि सारे तर भट्टराइले भारत र संसदीय शक्तीस“ग मिलेर गणतन्त्र स्थापना गर्नुपर्ने बिचार राखे । यही कारण भट्टराइलाई भारतपरस्त भएको र नेतृत्वविरुद्ध बोलेको आरोपमा फुन्टीबाङ बैठकले संयुक्त राष्ट्रिय क्रान्तीकारी जनपरिषद्को संयोजक र स्कुलिङ, प्रचार तथा प्रकाशन विभागको ईञ्चार्जबाट हटाएको थियो । बैठकपछि भट्टराइले मंसिर १५ मा असहमतिका १३ बुँदा लेखेर दाहाललाई बुझाएका थिए ।

माओवादी युद्धको अन्त्यतिर रुकुमका चुनबाङ र लाबाङ निकै चर्चामा थिए । महत गाविसको लाबाङ बाबुराम भट्टराईलाई कार्वाही गर्ने बैठकका कारण र चुनबाङ बाबुराम प्रचण्डको मिलापत्रका कारण । युद्धकालमा महत्वपूर्ण बैठक बसेका यि गाउँमा पनि बास बसियो । त्यहाँको बस्तुस्थिती अध्ययन गरियो । लाबाङ गाउँ यस्तो स्थल हो जहाँ २०६१ माघ १२ गते माओवादीको पोलिटव्युरो बैठक बसेको थियो । यही बैठकमा भट्टराइलाई भारतपरस्त भएको, नेतृत्वबिरुद्ध लागेको जस्ता आरोप लगाएर साधारण सदस्य मात्र रहने गरी कार्वाही गरिएको थियो । ६ दिनसम्म भट्टराइकै बिषयमा मात्र छलफल भएको बैठकमा माघ १८ गते भट्टराइ मात्रै होइन उनकी श्रीमती हिसिला यमीलाई समेत कार्वाही गरिएको थियो । भट्टराइलाई सघाएको भन्दै दिनानाथ शर्मालाई पोलिटब्युरोबाट राजिनामा दिन लगाइएको थियो ।

यसैगरी चुनबाङ अझ बढी चर्चामा रहेको गाउँ हो । चुनबाङ बैठकपछि नै माओवादीले शान्तिपूर्ण बाटो रोजेको थियो । मोहन बैद्य र सिपी गजुरेल भारत जेलमा रहेको बेला गरिएको उक्त निर्णय नै अन्तत माओवादी विभाजनको कारण बन्यो । २०६२ साउनदेखि असोजसम्म चुनबाङको भेरीडा“डामा बेग्लै रौनक थियो । असोज ५ बाट शुरु हुने केन्द्रीय समिति बैठकका लागि साउनदेखि नै तयारी थालिएको थियो । माओवादी कार्यकर्ता र लडाकुहरु दुई महिनाअघि नै गाउ“मा पुगिसकेका थिए । बैठकका लागि गाउ“लेहरुले बाटो खन्ने, दाउरा बोक्ने, अनाज बोक्ने र घरहरु लिपपोत जस्ता कामहरु निकै मेहनतका साथ गरे । जेनेरेटरबाट बत्ती जडान गरियो । १३ घर मात्रै रहेको भेरीडाँडामा ४ सय बढी माओवादी नेता कार्यकर्तालाई पाल्नु सहज थिएन तर पनि जनताले उत्साहका साथ काम गरे । असोज २३ गते मात्रै बैठक सम्पन्न भएको थियो ।

यसका साथै युद्धकालमा प्रयोग भएका हतियार, तालिम सञ्चालन भएका स्थान, आक्रमण भएका चौकी तथा सैनिक व्यारेकहरु, माओवादी शिर्ष नेताहरु बास बसेका घरहरु, महत्वपूर्ण बैठक बसेका गाउँ तथा घरहरु, सुरुङ युद्धको तयारी स्वरुप खनिएका बंकरहरु जस्ता युद्धकालिन सबै चिजहरु गुरिल्ला ट्रेकिङका आकर्षण हुन् ।

पदमार्गमा प्राकृतिक र सा“स्कृतिक सौन्दर्यको आनन्द त जति पनि लिन सकिन्छ । पैदल यात्रा कठिन त छदैछ । कतै जुका लागेर सतायो त कतै बाटो भुलेर जंगलमा अलमल । घण्टौं जंगलमा हिड्दा पनि खास बाटो पत्ता नलाग्दाको आनन्द बेग्लै । जता पुगिन्छ पुगिन्छ भन्दै हिड्दा कुनै न कुनै गाउ“ भेटिन्थ्यो अनि त्यतै खाना र बासको जोहो गरिन्थ्यो । बैशाख जेठ महिनातिर पैदल यात्रा गर्ने हो भने पूर्वी रुकुममा यार्शागुम्बातर्फको यात्रा देख्न पाइन्छ । रुकुमका पूर्वी उत्तरी गाउ“हरु पूरै घर खाली गरेर यार्शा टिप्न डोल्पातिर जान्छन् । यार्शाको खोजी, यार्शा यात्रा र व्यापार देख्न पाइन्छ । रमाइला ताल, सुन्दर हिमाल र झरनाहरु त पदमार्गमा जति पनि देख्न सकिन्छ । हिड्दा हिड्दा थकित भएको बेला मनोरञ्जन गर्ने र रमाउन सकिने स्थलहरुको निर्माणका लागि रुकुम र रोल्पा जिल्ला समन्वय समितिले बिस्तृत युद्ध पर्यटन योजना बनाइ युद्धकालिन महत्वपूर्ण ठाउ“ र सामग्रीहरुको संरक्षण थालेका छन् ।

युद्धकला देखाइएका स्थल, तालिम स्थल, ठूला आक्रमण स्थल, जनकम्युन, घरेलु हतियार निर्माणस्थल, जनवादी शिक्षास्थल , सुरुङ, बंकर, बैठक घर र युद्धका तयारी स्थलहरुको संरक्षण गर्न थालिएको छ । सबै सामग्री संकलन तथा संरक्षण गरेर युद्ध संग्रहालय बनाउने तयारी भैरहेको छ । यसले इतिहास जान्न खोज्ने नयाँ पुस्तालाई सहयोग मिल्ने छ । देशी विदेशी पर्यटकहरुलाई आकर्षित गर्नेछ ।

`रुकुमको चुनबाङस्थित माओवादी युद्धकालको अन्तिम केन्द्रीय समिति बैठक बसेको घर र जग्गा किनेर संरक्ष्ँण गरिएको छ । १० लाख रुपया“मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल बसेको घर र बैठक बसेको गोठ किनिएको छ । त्यसमा थप १५ लाख रुपया“ खर्च गरेर प्रतिक्षालय र पर्खाल निर्माण गरिएको छ । ठाउँ ठाउँमा गेट, पार्क, स्मारक, स्तम्भ, लगाएतका संरचना निर्माण भएका छन् । पदमार्गमा चर्पी निर्माण, ठाउँ ठाउँमा साइनपोष्ट राख्ने जस्ता कामहरु पनि सञ्चालन भैरहेका छन् ।

पर्यटकले सजिलै सूचना प्रबिधिमा पहु“च पाउन सकून् भनेरठाउँ ठाउँमा वाइफाई नेटको व्यवस्था गर्ने तयारी भैरहेको छ । यसका लागि सूचना प्रबिधिमा म्यागासेसे पुरस्कार पाउने महाबिर पुन नै आएर सम्भाव्यता अध्ययन गरिसकेका छन् । रुकुमको सिस्ने हिमाल र रोल्पाको जलजला पनि आकर्षणका केन्द्र हुन् । सिस्ने हिमाल आरोहण समेत भैरहेको छ । सिस्ने हिमालको आधार शिविरसम्म पुग्न सडक निर्माण भैरहेको छ । युद्धपछिका गाउँ घरलाई खोज अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्न यस्ता तयारीले धेरै मद्धत गर्नेछन् । युद्धकालमा प्रताडित रुकुम रोल्पालाई युद्धकै पर्यटनमार्फत विकास गर्ने योजना उदाहरणी बन्दैछ ।

रोल्पाका जलजला, जेलबाङ, थबाङ, शहिद मार्ग, होलेरी, गाम, भाबाङ, घर्तीगाउ“, इरिबाङ, कुरेली लगाएतका स्थललाई युद्ध पर्यटनको केन्द्र बनँएर काम गरिएको छ । युद्र्ध पर्यटनका लागि सुलिचौर—जेलबाङ—जलजला—लिबाङ सडकको पनि परिकल्पना गरिएको छ । माओवादीले पहिलोपटक आक्रमण गरेको होलेरी चौकी क्षेत्रको संरक्षण भैरहेको छ । होलेरी चौकीमा दोश्रोपटक आक्रमण गर्दा सेना परिचालन गर्ने नगर्ने बिषयमा विवाद हुँदा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामा दिनुपरेका कारण पनि होलेरी चर्चामा छ । अर्को हेर्नलायक ठाउँ हो द्वन्द्वकालमा सबैभन्दा धेरै मानिसहरु मारिएको रोल्पाको जेलबाङ । यहाँ ६३ राज्य र १० माओवादीबाट गरी ७३ जना मारिएका छन् ।

यस गाउँलाई नमूना गाउँका रुपमा विकास गर्न थालिएको छ । जेलबाङका ११ घरमा होमस्टेको व्यवस्था गरिएको छ । एक सय किलोवाटको बिजुली निकाल्न थालिएको छ । अहिले पनि द्वन्द्व व्यवस्थापन पढिरहेका बिद्यार्थी अनुसन्धानका लागि जेलबाङमा आइरहेका छन् । जेलबाङ जलजलाको फेदमा भएकाले यहाँ बास बसेर जलजलातिर उकालो चढ्ने व्यवस्था गर्न थालिएको छ ।

माओवादीले युद्धकालमा निर्माण शुरु गरेको शहिद मार्ग, सुनिल मार्ग, पहिलो जनसरकार घोषणा भएको स्थान रुकुमको बांफीकोट, रोल्पामा पहिलो जनसरकार घोषणा भएको भाबाङ, गुम्चालको माओवादी तालिम केन्द्र, घर्तीगाउँ प्रहरी चौकी, १ सय ६ जनाको ज्यान जानेगरी गाममा भएको सैनिक व्यारेक आक्रमणस्थल, प्रचण्ड—बामदेव गौतम बार्ता भएको गैरीगाउ“को दुम्ला लगाएतका क्षेत्र ट्रेकिङका आकर्षण बन्न सक्छन् ।
गुरिल्ला ट्रेकिङका लागि तीनवटा रुटहरु तयार पारिएको छ । १४, १९ र २७ दिनको यात्राका लागि रुटहरु तय गरिएका छन् । कम समय हुने र मुख्य मुख्य ठाउँ मात्र हेर्नेका लागि १४ दिन, बिस्तृतरुपमा युद्ध स्थल हेर्नेका लागि १९ दिन र प्राकृतिक सुन्दरता र सास्कृतिक महत्वका स्थलहरु हेर्ने गरी पर्याप्त समय हुनेका लागि २७ दिनको रुट तयार पारिएको छ ।

बिदेश या राजधानीबाट आउने पर्यटकका लागि सबै रुटहरु पोखराबाट शुरु गरिएको छ । अन्य पर्यटकका लागि भने दाङबाट सल्यान या रोल्पा हुँदै छोटा रुटहरु प्रयोग गर्न सकिन्छ । राजधानीबाट आउँदा पहिलो दिन पोखरा पुगेर म्याग्दीको बेनीसम्म पुग्न सकिने योजना बनाइएको छ । पोखराबाट करिव ५ घण्टाको बस यात्राबाट बेनी पुग्न सकिन्छ । बेनी पनि माओवादी आक्रमणमा परेको महत्वपूर्ण स्थल भएकाले यहा“को छोटो अध्ययन गर्न सकिन्छ । २०६० चैत ७ गते करिव ६ हजार माओवादी बेनीमा उत्रिएका थिए । आक्रमणमा २० प्रहरी र १ सय बढी माओवादीको ज्यान गएको थियो ।

बेनीबाट केह समय गाडी चढ्न सकिने सुबिधा भएपनि खुलारुपमा अवलोकन गर्न त्यहींबाट पैदल यात्रा शुरु हुन्छ । दोश्रो दिन म्याग्दीकै दर्बाङसम्मको यात्रा तय गरिएको छ । म्याग्दी नदीको किनारैकिनार करिव ८ घण्टाको पैदल यात्रा हिडेर बाबियाचौर हुँदै दर्बाङ पुग्न सकिन्छ । बाटोमा तातोपानीको मजा लिन सकिन्छ । तेश्रो दिन दर्बाङबाट तकामसम्मको यात्रा गर्न सकिन्छ । यसक्रममा धौलागिरी क्षेत्रको सुन्दर दृश्य देख्न सकिन्छ । चौथो दिन तकामबाट मोरेनी, पाँचौ दिन मोरेनीबाट गुर्जाघाट र छैठौं दिन ढोरपाटन पुग्न सकिन्छ । यहाँ ढोरपाटन शिकार आरक्षणको अवलोकन गरेर प्रकृतीको आनन्द लिन सकिन्छ ।

सातौं दिनदेखि रुटहरु फरक फरक हुन्छन् । १४ दिनको यात्राका लागि निसेल्धोरतिर लाग्नुपर्छ भने १९ र २७ दिनका लागि थांकुरतिर जानुपर्छ । १४ दिने यात्राका लागि आठौं दिन रुकुमको तक, नवौं दिन लुकुम, दशौं दिन रोल्पाको थबाङ, एघारौं दिन सुकुल्बाङ, बाह्रौं दिन जेलबाङ, तेह्रौं दिन सुलिचौर र चौधौं दिन सुलिचौरबाट गाडी चढेर काठमाडौ फर्कन सकिन्छ ।

लामो ट्रेकिङका लागि भने आठौं दिन कायाम पुग्नुपर्छ । कायाममा मगर खाम भाषाको बारेमा अध्ययन गर्न सकिन्छ । नवौं दिन रुकुमको पेल्मा पुगिन्छ । किलोशेरा टु अप्रेशनका क्रममा प्रहरीले हेलिकोप्टर ल्याण्ड गरेर पटकपटक अप्रेशन गरेको गाउँ हो पेल्मा । पेल्माबाट दशौं दिन मैकोट पुगिन्छ । मैकोट माओवादी आधार इलाकामा पर्छ । डोल्पाको सदरमुकाम दुनै आक्रमण गर्दा माओवादीले यहींबाट तयारी गरेर गएका थिए । डोल्पा यार्शागुम्बा टिप्न जाने सवालमा पनि मैकोट चर्चित छ । यार्शा टिप्न जाने भएकाले बैशाख जेठमा यहा“का सबैजसो घरहरु खाली हुन्छन् ।

१९ दिने यात्राका लागि एघारौं दिन हुकाम हुँदै डिमुरगैरा पुगिन्छ ।यहाँ होमस्टेको व्यवस्था छ । यहाँ मगर समुदायको भूमे नाच हेर्न सकिन्छ । २७ दिने यात्राका लागि भने अर्चल गाउँ  जानुपर्छ । १९ दिने यात्राको लागि बाह्रौं दिन धर्मशाला, तेह्रौं दिन तक, चौधौं दिन लुकुम, पन्धौं दिन रोल्पाको थबाङ, सोह्रौं दिन सुकुल्बाङ, सत्रौं दिन जेलबाङ, अठारौं दिन सुलिचौर र उन्नाइसौं दिन काठमाडौं फर्कने व्यवस्था छ ।

लामो यात्राका लागि भने बाह्रौं दिन खाराबाङ, तेह्रौं दिन चारगाउँ , चौधौं दिन छिपखोला पुगिन्छ जहाँ कम्युन हेर्न सकिन्छ । पन्ध्रौं दिन पोखरा र सोह्रौं दिन पिपल हुँदै स्यार्पुताल पुगिन्छ । पिपलको मेलगैरीमा माओवादी युद्धकालको पहिलो सामूहिक हत्याकाण्ड भएको थियो । प्रहरीले २०५२ फागुन १५ गते एकै दिन ६ जनाको हत्या गरेको थियो । त्यसपछि स्यार्पुतालको रमणीय दृश्य हेर्न सकिन्छ ।

सत्रौं दिन रुकुमको सदरमुकाम खलंगा पुगिन्छ । अठारौं दिन रुकुमकोट, उन्नाइसौं दिन जामाबगर, बिसौं दिन धर्मशाला, एक्काइसौं दिन तक, बाइसौं दिन लुकुम, तेइसौं दिन थबाङ, चौबिसौं दिन सुकुल्बाङ, पच्चिसौं दिन जेलबाङ, छब्बिसौं दिन सुलिचौर र सत्तँइसौं दिन काठमाडौ फर्कने रुट तय भएको छ । पोखराबाट आउनेहरुका लागि यी रुटहरु तय भएपनि दाङबाट रोल्पा या रुकुम हुँदै यात्रा गर्न चाहनेका लागि एक सातासम्मका रुटहरु पनि रहेका छन् । यात्राका लागि असोजदेखि मंसिर या माघदेखि जेठसम्मको समय उपयुक्त हुन्छ ।

युद्धले ठूलो क्षती पु¥याएका तथा निकै चर्चामा रहेका रुकुमका खारा, पिपल, चुनबाङ, प्वाङ, रोल्पाका थबाङ, जेलबाङ, गाम जस्ता गाविसहरुमा युद्व पर्यटनप्रति चासो बढेको छ । ‘हामीले युद्धका लागि घरबास गुमायौं । महिनौं जंगलमा बास बस्यौं । हाम्रँ घर जलाइए । अहिले ती कुराको अध्ययन अवलोकन हुनु राम्रो कुरा हो,’ थबाङमा होमस्टे चलाइरहेका रेशम शाहले भने,‘हाम्रा क्ष्ँतीग्रस्त गाउ“लाई पर्यटकीय केन्द्र बनाउनुपर्छ । यहा“का जनतालाई स्वरोजगार बनाउने योजना बन्नुपर्छ ।’

१४ बर्षअघि सिंगो गाउँ जलेको खारामा पनि केही आशा पलाएको छ । निर्दोष नागरिकका घर जलेको त्यो दुःखदायी घटना बिर्सन गाह्रो भएपनि युद्ध पर्यटनको कुराले गाउ“को विकास हुनेमा केही आशावादी भएको खारा पोखरीका टेकबहादुर खड्काले बताए । खारामा २०५६ फागुन १० गते माओवादीको गोली प्रहारबाट प्रहरी जवान गोपाल केसीको ज्यान गएपछि आक्रोशित प्रहरीले भोलिपल्ट खाराको गाउ“मा नै आगो लगाइदिएको थियो । ‘१५ गाउँले मारिए, ७४ घर जले । त्यो क्षतीको पूर्ती कुनै किसिमले हुन सक्दैन । ती दिनले झस्काइरहन्छन्,’ उनले भने,‘पर्यटक आएमा हाम्रो आर्थिक स्तरमा केही विकास हुन सक्छ । हाम्रो बारेमा देशबिदेशमा केही चर्चा र चासो होला ।’ खारास्थित रुकुम प्रवेशस्थलमा ‘पर्यटकीय द्वार’ बनाइएको छ । ठाउँ ठाउँ मा पार्कहरु बनाइएको छ ।

रुकुमको चौखाबाङ, चुनबाङबाट पसेर रोल्पाको थबाङ, उवा, सुलिचौर हुँदै  लिबाङ पुग्दा १५ दिन बितिसकेका थिए । पैदल यात्राले ज्यान लखतरान परेको थियो तैपनि गुरिल्ला ट्रेकिङ सम्पन्न भएको खुशीले सबै थकाई मेटिदै थियो । रुकुम रोल्पा युद्ध पर्यटनका केन्द्र बन्ने धेरै आधारहरु छन् । मध्यपहाडी लोकमार्गको चौरजहारीदेखि बुर्तिबाङ सम्मको सडकमध्ये १३४ किलोमिटर रुकुममा पर्छ । उक्त सडक अहिले धमाधम निर्माण भैरहेको छ । दाङबाट रुकुम र रोल्पाको सदरमुकामसम्म कालेपत्रे सडक छ । रुकुमको मुसिकोट र चौरजहारीमा दुईवटा विमानस्थल छन् । अहिले रुकुमबाट रोल्पाको थबाङसम्म मोटरबाटो पुगेको छ । माओवादीले युद्धकालमा खनेको शहिद मार्गले पनि रुकुम रोल्पालाई जोडेको छ ।

रुकुम डोल्पा हु“दै चिनसम्म जोडिने जिल्ला हो । रुकुमको सिस्ने हिमाल आकर्षणको केन्द्र हो । सिस्ने आरोहणका लागि अहिले तीनवटा रुट तय भएका छन् । बा“फिकोट, पिपल र प्वाङ गाविसबाट हिड्दै सिस्ने हिमाल पुग्न सकिन्छ । यार्शागुम्बा र भूमे नाच थप आकर्षणका केन्द्र हुन् । सानो भेरी नदीमा ¥याफ्टीङ शुरु भएको छ । युद्धकालिन महत्वपूर्ण स्थलह रुकुम र रोल्पामै छन् । रुकुम र रोल्पाको हावापानी पनि ट्रेकिङका लागि अनुकूल छ ।

रुकुम रोल्पाले ठूला ठूला माओवादी नेताहरु पनि जन्माएको छ । ति नेताहरुको लगानी र चासो पनि युद्ध पर्यटनका लागि सहायता हुन्छ । रुकुम उज्यालो कार्यक्रम सञ्चालन भएको छ । हरेक गाविसमा लघु जलबिधुत उत्पादन भैरहेको छ । दुई बर्षअघि भएको अध्ययनमा देशकै सबैभन्दा धेरै लघु जलबिधुत उत्पादन गर्ने पहिलो जिल्ला रुकुम र दोश्रो रोल्पा भएका छन् । लघु जलबिधुतको अध्ययनका लागि पनि यी क्षेत्र राम्रो केन्द्र हुन सक्छन् । युद्धले बनाएका अनगिन्ती घाउहरुलाई युद्ध पर्यटनले मल्हम लगाउन सकोस् । शुभकामना ।