काठमाडौँ, १० चैत्र । करिब अठार वर्ष सिंगापुर पुलिस फोर्समा सेवा गरी अवकाश लिएका पाँचथरका युवा अशोक मुकारुङको साङ्गीतिक अभिरुचि पुरानै हो । स्कुले जीवनदेखि नै गीत गायनमा लागेका उनले जागिरे जीवनमा रहँदा पनि आफ्नो अभिरुचिलाई निरन्तरता दिइरहे । यसअघि तीन वटा गीति एल्बम ल्याइसकेका उनी पछिल्लो पटक चौथो एल्बमका रुपमा ‘झुल्केको घाम’ लिएर श्रोतामाझ आएका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, कवि तथा गीतकार श्रवण मुकारुङले ‘झुल्केको घाम’ एल्बमका गीतहरू सुनेर आफू निकै आनन्दित भएको बताए । उनले सुनाए, ‘गीत गाउनु पनि एउटा विशेष साधना गर्नु हो । अशोक यो साधनाबाट खारिएका प्रतिभा हुन् भन्ने कुरा एल्बमका गीतहरूले प्रमाणित गरेका छन्. ।’
कार्यक्रममा नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू, गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले पनि गायक तथा एल्बमका बारेमा बोलेका थिए । उक्त अवसरमा दुई वटा म्यजिक भिडियो देखाइएको थियो ।
सेवा इन्टरटेन्टमेन्टले बजारमा ल्याएको एल्बम ‘झुल्केको घाम’मा ‘झुल्केको घाम’, ‘लैबरी…’, ‘पानी त चिसो’, ‘तिमीबाट’, ‘धरानैकी सोल्टिनी’, ‘पिरती भाका’, र ‘पिखुवा खोला’ समेत सात गीत समेटिएका छन् । गंगाराज मुकारुङ, गौरव गुरुङ, वसन्त थाम्सुहाङ र तुलसी बस्नेतका शब्दका साथै वसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ र सुमन राईको सङ्गीत रहेको छ ।