
हिजो
मैले रोपेका गुनकेसरी
आज तिम्रो फुलबारीमा कसरी फुले?
सुगन्ध खोज्ने लहडमै
रगताम्मे हातहरु छाम्दै
थुप्रै पटक
डम्फर र अररी काँडासँग कर्कस बोलेको छु म।
मेलै सर्दैनथ्यो
र पनि खनेको छु
खडेरीमा बाँझो वारि
आगोबाट आगो छुट्ट्याउदै
तौली तौली लिएको छु
शब्द भनेर आगाका थुँगाहरु
यस्तै यस्तै मेसोमा
बिसौँ पटक मेटेको छु
लेखेर जिन्दगीलाई।
लेख्दा लेख्दै उज्यालो
दियालो रित्तिएपछि
भरें आफ्नै रगतको बर्तन
र उभ्याएँ रहरका रङ्गीन अनुच्छेदहरु।
आफ्नै थालमा
वेफुर्सद व्यन्जनहरु पस्किएर
टारेको छु असङ्ख्य भोका छाकहरु
विपनाका चम्किला बिहानहरु
सपनाको रङ्गीन दुनियाँ
सबै भुलेर हिँडेको छु
अक्षरहरुको गाउँ ।
हरेक उत्सवहरुमा
मझेरीबाटै हिंड्छ हतारको बिहान
पर परबाट आउँछ पस्चिमी हावा
हाँस्छ मेरै पारामा
रुन्छ मेरै पारामा
हातमा फोटोकपी मेसिन बोकेर
मेरो सगरमाथाको नक्कल गर्छ
मेरो गाम्भीर्यता अलि भिन्नै छ
किन बुझ्दैन उसले ?
चारो खाँदै गरेका चल्लाहरु चिलले झमटे झैँ
उ आक्रमक छ यसबेला
बोल्दा बोल्दैको आवाज टिप्न खोज्छ
जिर्ण पौवा जस्तो भत्किएको विश्वाश बोकर
कस्तो मानचित्र कोर्दैछ उ?
क्रुर सिकारीले गुंड भत्काइदिएपछि
अलमलिएका बचेरा झैँ
अन्योल छन् मेरा नानीहरु
हेर्दा हेर्दै अगेंनामा माउ अगुल्टो हराउँछ
छिमेकी रिसाउँछ भनौं भने
नभनौं त उ मेरो आङ्को घाम टिपेर
आफ्नो आँगनमा थरीथरी बिस्कुन फिँजाउछ
मैले देख्ने गरि बार्दलीमा लुगा सुकाउँछ
हिजोआज त
उसको अगेँनाको आगो समेत
दुरुस्तै मेरी छोरीको आवाजमा भर्भराउँछ।
याद गर
तिमीले सोचेभन्दा पनि
अझै विशाल छ मेरो फैलावट
सक्छौ भने लैजाउ यो पनि
म सँग अझै सुन्दर लाग्ने
आगोको फुलबारी बाँकी नै छ।