काठमाडौँ, ८ चैत्र । विश्व कविता दिवस ( २१ मार्च ) का अवसरमा मङ्गलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विशेष कवि गोष्ठीको आयोजना गरियो । कवि गोष्ठीमा चौतीस जना नयाँ–पुराना पुस्तका कविहरूले कविता वाचन गर्नुभयो ।
यसै गरी गोष्ठीमा निभा शाह, बाबु त्रिपाठी, मणि लोहनी, मदन राई ‘लामाखुले’, यशोदा अधिकारी, राजु स्याङ्तान, रामप्रसाद ज्ञवाली, बिना थिङ, विमला तुम्खेवा, शकुन्तला जोशी, सुरेश किरण, स्नेह सायमी, स्वप्निल स्मृति, हरिहर तिमिल्सिनाले कविता वाचन गर्नुभएको थियो ।
उक्त कवि गोष्ठीका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले समाजसँग प्रत्यक्ष संवाद गर्ने विधा नै कविता भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक सद्भाव कायम गर्न पनि कविताको अहम् भूमिका रहन्छ ।’
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता दिवस विश्वभरिका कविहरुका लागि भातृत्व, शान्ति र सद्भाव प्रकट गर्ने पर्वका रूप मनाउँदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपकुलपति डा. विष्णुविभु घिमिरेले कविता व्याख्या गर्ने नभएर अनुभूत गर्ने विधा भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजका कविताहरू सुन्दा यही कुराको पुष्टी हुन्छ ।’
उक्त कार्यक्रमबारे प्रकाश पार्दै प्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ डा. अमर गिरीले युनेस्कोले सन् २००० देखि विश्व कविता दिवस मनाउन आरम्भ गरेको उल्लेख गर्नुहुँदै नेपाल प्रज्ञा–प्रतिष्ठान–प्रतिष्ठानले केही वर्ष पहिलेदेखि विश्व कविता दिवस मनाउन थालेको उल्लेख गर्नुभयो ।
उहाँले कविताका माध्यमबाट मानिसको सौन्र्दयात्मक आवश्यकताको पूर्ति, भाषा तथा संस्कृतिको संरक्षण, सद्भाव तथा सहिष्णुताको निर्माण गर्न सकिने कुरालाई केन्द्रमा राखेर युनेस्कोले विश्व कविता दिवस मनाउन आरम्भ गरेको चर्चा गर्नुभयो ।