खोटाङ, ६ चैत । दुबै हात नभएकी खोटेहाङ गाउँपालिका– २ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन्। भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन्।
परीक्षा केन्द्र नजिकै सिम्पानीबजारमा कोठा भाडा लिएर परीक्षा दिइरहेकी सम्झनालाई सघाउन उनकी आमा सुमित्राले साथ दिइरहेकी छन्। आर्थिक अवस्था कमजोर भएकाले मावली बसाएर पढायौ, आमा सावित्राले भनिन्। सम्झनालाई अहिलेसम्म अध्ययनमा लागेको सबै खर्च विद्यालयको तर्फबाट व्यहोरिएको प्रअ पराजुलीले जानकारी दिए।
जन्मजात दुबै हात नभएकी सम्झनालाई अध्ययन तथा सहज जीवनयापनका लागि यसअघि खोटाङ सेवा समाज बेलायतबाट रु चार लाख ६९ हजार ७ सय ६० आर्थिक सहयोग प्राप्त भएको थियो।
समाजले उपलब्ध गराएको रकम उच्च शिक्षा अध्ययनमा खर्च गरिने आमा सुमित्राले बताइन्। गरिब परिवारमा जन्मिएकी सम्झनाले आफू अशक्त भए पनि पढेर समाजको सेवा गर्न रुची रहेको बताइन्। रासस