रुकुम, २ चैत । रुकुममा करोडौं रकम खर्चेका आधा दर्जन बढी सिँचाइ आयोजना अलपत्र अवस्थामा रहेका छन् । आर्थिक वर्ष २०५२र५३ मा राष्ट्रिय योजना आयोगबाट स्वीकृत र जिल्ला सिँचाइ कार्यालय रुकुमको सहजीकरणमा सञ्चालित सिँचाइ आयोजनाहरूको हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।
राष्ट्रिय गौरवका सिँचाइ योजना भन्दै राष्ट्रिय योजना आयोगको स्वीकृतिमा प्रत्येक अधुरा आयोजनामा करीब १ करोड २० लाखभन्दा बढी रकम खर्चेको सिँचाइ कार्यालयले जानकारी दिएको छ । यकिन तथ्याङ्क नभए पनि एउटा आयोजनामा करोडभन्दा बढी रकम खर्च भएको सिँचाइ कार्यालय स्रोतको दाबी छ ।
सिँचाइ कुलो प्राविधिक प्रतिवेदनअनुसार आयोजनाको कुल लागत रकम ३ करोड लाग्ने तथ्याङ्कले देखाएको छ । कार्यालयका अनुसार ०५६ सालसम्म नहर निर्माणको काम भए पनि पछिल्ला वर्षमा सरकारले थप रकम विनियोजन नगरेपछि काम हुन नसकेको हो ।
ग्रामीण क्षेत्रमा खाद्यान्न उत्पादनमा वृद्धि गर्ने उद्देश्यले सिँचाइ आयोजनाको निर्माणकार्य थालिएको थियो । आर्थिक अभाव र सरकारी उदासीनताको कारण योजना निर्माण नभएको स्थानीयको भनाइ छ । सिँचाइ कार्यालयका अनुसार आयोजना निर्माण भए जिल्लाका हजारौं हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।
प्रवीर ददेल /अभियान