काठमाडौं, २ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन मंगलबारदेखि फिर्ता लिएको छ।मोर्चाको सचिवालयको बैठकले समर्थन फिर्ता लिने कानुनी व्यवस्थाका बारेमा परामर्श गर्दा औपचारिक प्रावधान नरहेको पाएपछि स्वत फिर्ता हुने गरी राजनीतिक निर्णय गरिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए।
मोर्चाले दिएको सात दिने अल्टिमेटमको समयावधि मंगलबारदेखि सकिदैछ । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसकेको सचिवालयको बैठकले आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमका बारेमा छलफल केन्द्रित गरेको थियो । ‘हाम्रो संघर्ष तीन चरणमा अगाडि बढछ । सरकारलाई दिएको समर्थन फिर्ता लिने राजनीतिक निर्णयबाट पछाडि हटिने छैन’ झाले भने ।
चैत ३ गतेदेखि एसएलसी परिक्षा परेका कारण त्यो अवधिमा प्रचारात्मक र भण्डाफोर कार्यक्रम सञ्चालन गर्ने,चैत १२ देखि ३० गतेसम्म कोणसभा,श्रद्धाञ्जली सभा,जुलुस,कालो झण्डा देखाउने, निर्वाचन कार्यालय घेराउ गर्ने जस्ता कार्यक्रम बुधवार बस्ने मोर्चाको बैठकले बनाउन लागेको छ । बैशाख पहिलो सातादेखि मोर्चाले अनिश्चितकालीन आमहडतालमा जाने गरी कार्यक्रम बनाउने तयारी भइरहेको मोर्चाका अर्का एक नेताले बताए।
सप्तरीमा चार जनाको गोली लागेर निधन भएपछि आक्रामक रुपमा प्रस्तुत भएको मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीसहितको ज्ञापनपत्र फागुन २५ गते प्रधानमन्त्री प्रचण्डलाई बुझाएको थियो । प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन मोर्चाका नेताहरुलाई आग्रह गर्दै आएका छन। अन्नपूर्ण पोष्टबाट