म्याग्दी, १ चैत । म्याग्दीको शिख–९ कालीगण्डकी किनारमा ४ वर्षअघि पत्ता लागेको नुन खानी अनुसन्धान र उत्खननमा सरकारले चासो नदेखाएपछि अलपत्र परेको छ। विसं २०७० मा शिख कालीगण्डकी किनारमा नुनिलो पानीको मुहान फेला परेको थियो।
चार वर्षअघि तातोपानी कुण्ड संरक्षण गर्ने क्रममा डोजरले खनेर तलाउ बनाउँदा नुनिलो पानीको मुहान भेटिएको संरक्षण समितिका सदस्य पूर्ण पाइजाले बताए। असोज–कात्तिकमा पानी जमेर नुन नै बन्ने गरेको उनको भनाइ छ।
नुनिलो तातोपानी अहिले स्थानीयवासीका लागि प्राकृतिक उपचार केन्द्र बन्न थालेको छ। नुनपानीमा डुबेपछि घाउ, चोटपटक लागेको र शरीर दुख्ने समस्या निको हुने कुण्डका हेरालु जसबहादुर पाइजाले बताए।
म्याग्दीका एक दर्जन स्थानमा तातोपानीको मुहान भए पनि यो मुहानबाट निस्कने पानीमा नुनको मात्रा अत्यधिक पाइएको छ। नुन र बिरेनुनको गन्धको मात्रा अत्यधिक रहेकाले सो स्थानमा नुनखानी मात्र नभएर थप स्रोत पनि भेटिन सक्ने स्थानीय बासिन्दाले बताएका छन्। रासस