कञ्चनपुर २८ फागुन । एसएसबीको गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
गत बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो । गौतमलाई शुक्रबार शहिद घोषणा गर्दै सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।
गौतमको शव हाल सेती अञ्चल अस्पतालमा राखिएको छ । उनको शनिबार पोष्टमार्टम भएको छ । अस्पताल परिसरबाट आइतबार बिहान साढे ८ बजे उनको शवयात्रा निकालिनेछ । शवयात्रा शहरका बिभिन्न स्थान परिक्रमा गर्दै दोधा नदीमा पुग्नेछ र सोही नदी किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । अनलाइन खबरबाट