Indrenionline.com

कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ : अध्यक्ष ओली

चितवन, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन् ।

पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उनले बताए।

अध्यक्ष ओलीले भने–“अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ । भारतको बलियो छु, भन्ने घमण्ड हो । अर्काको सिमानामा पस्न पाइँदैन । अन्तर्राष्ट्रिय कानुन भारतले पनि मान्नुपर्छ ।”

खाली हात आफ्नो सिमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो सहिद भएको भन्दै उहाँले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताए ।

सप्तरी घटनाका सन्दर्भमा कडा टिप्पणी गर्दै उनले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप लगाए । आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको भन्दै उनले भने – “हामी हिंसामा जाँदैनौँ, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्को हुन्छ भन्न चाहन्छौँ ।”

ओलीले थपे– “सबैले बुझे हुन्छ, एमाले आफ्नो अभियानमा दृढ छ । एमाले मर्न परे मरौँला तर यो देश बनाएर छाड्छौँ भनेर हिँडिरहेका छौँ ।” रासस