Indrenionline.com

पार्टी निर्माणमा यस्तो छ साझा पार्टीको नयाँ तरिका, परम्परा उल्ट्याइदिए मिश्रले

काठमाडौं २८ फागुन । बीबीसीसँगको २२ वर्ष लामो आवद्धता त्याग्दै पूर्णकालीन राजनीतिमा होमिएका रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले संगठन निमार्णमा नयाँ तरिका अपनाएको छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय सहभागी मिश्र नेतृत्वको साझा पार्टीले फेसबुक, टुइटरमार्फत पार्टीको प्रचार-प्रसार गरिरहेको छ । माथिबाट नेतृत्व चयन गर्दै तल संगठन निर्माणमा खटिने परम्परागत प्रक्रियालाई तोड्दै मिश्रले स्थानीय स्तरमै सात जनाको समूहले स्वतस्फूर्तरुपमा पार्टीको इकाई गठन गर्न सक्ने विधि अगाडि सारेका छन् ।

उक्त विधिलाई पछ्याउँदै केही स्थानीय इकाईहरुको निर्माण भइरहेको साझा पार्टी सम्बद्ध सामाजिक सञ्जालहरुमा प्रचार भइरहेको छ । संगठन निर्माणको परम्परागत राजनीतिक अभ्यासलाई उल्ट्याइदिएको साझा पार्टीले यसलाई कसरी संस्थागत गर्दै नेतृत्व श्रृंखलाको निर्माण गर्नेछ, त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

यस्तो छ साझा पार्टीको संगठन निर्माणको दुई रणनीति
देशभित्र: देशका हरेक टोल-टोलमा कम्तिमा ७ जना वा संभव भए त्यो भन्दा बढी संख्याको ‘साझा पार्टी इकाई’ निर्माणका लागि तत्काल जुट्न हामी विनम्र आग्रह गर्दछौं, जुन छिटै पार्टीको संगठन निर्माणको आधारशिला हुनेछ। देशभरी संगठित इकाईहरू निर्माण नहुने हो भने हाम्रो साझा सदभाव, साझा संभावनामा रूपान्तरित हुनै सक्दैन। जब पार्टी औपचारिकरूपमा दर्ता हुनेछ, ती इकाईहरूले पनि औपचारिकता प्राप्त गर्नेछन्।

विदेशमा: विदेशका नगर तथा शहरहरूमा चाहिँ ‘साझा सदभाव समूह’हरू निर्माण कार्य तत्काल अगाडि बढाउन हामी हार्दिक अपिल गर्दछौं। त्यस्ता समूहहरू नेपालीहरु केन्द्रित भएको कुनै पनि ठाउँमा निर्माण हुन सक्दछ। ती समूहहरूले विदेशमा बस्ने नेपालीहरूमाझ साझा पार्टीप्रति सदभाव र समर्थन बढाउन भूमिका खेल्नेछन्।

यस्तो छ ‘साझा पार्टी’ को संगठन निर्माणको अन्तर्राष्ट्रिय अपिल :
संसारको जुनसुकै कुनामा बसेपनि नेपाली ‘नेपाली’ नै हुन्, जसको मन, मस्तिष्क, भाव, भङ्गी, रूप, रङ्ग सदा नेपाली रहन्छ । आफू हाल रहेको देशको विकास देख्दा र नेपालको विकृति हेर्दा हरेक नेपालीको मनमा पीडा हुनु स्वभाविक हो।

हामी त्यो पीडाबोधलाई सदाका लागि अन्त्य गर्न प्रतिबद्ध छौं । कृपया हामीमाथि शंका नगरिदिनुहोला, हामी यो देश हाम्रै जीवनकालमा बनाएरै छोड्छौं। संसारको जुनसुकै कुनामा बसेको भएपनि हरेक नेपालीले नेपाल हेरेर गर्व गर्न सकून् भन्ने हाम्रो दृढ चाहना छ । तर हाम्रो चाहना तपाईंको सहयोगबिना पूर्ण हुनै सक्दैन, किनभने हामी ‘माध्यम’ हौं, तपाईंहरू परिवर्तनका वास्तविक वाहक । तसर्थ हामी निम्न अनुनय विनय गर्न चाहन्छौं:

– तपाईं जुनसुकै देशको जुनसुकै नगर या शहरमा भएपनि त्यहाँ एउटा ‘साझा सद्‌भाव समूह’ गठन गरिदिनुहोस् । उदाहरणका लागि, तपाईं लण्डनको ह्यारोमा बस्नुहुन्छ भने, तपाईंले ‘साझा सद्‌भाव समूह-ह्यारो’ गठन गर्न सक्नुहुनेछ, जसमा एकजना संयोजक र एकजना उप-संयोजक रहन सक्नेछन् । त्यसैगरी संसारभरी हजारौंको संख्यामा जताततै ‘साझा सद्‌भाव समूह’को गठन होस् र हामीप्रति तपाईंहरूको समर्थन, सहयोग र सद्‌भाव प्राप्त होस् भन्ने हाम्रो मनोकांक्षा हो। त्यसले हामीलाई व्यापक प्रेरणा र बल प्रदान गर्नेछ । आवश्यकता अनुसार अन्य पद पनि सृजना गर्न सक्नुहुनेछ।
– हरेक ‘साझा सद्‌भाव समूह’का संयोजक तथा उप-संयोजकले आपसमा मिलेर क्षेत्रीय या राष्ट्रिय ‘साझा सद्‌भाव समूह’ गठन गर्न सक्नुहुनेछ । उदाहरणका लागि, अमेरिकाको न्यूयोर्कका विभिन्न नगर तथा शहरमा बनेका ‘साझा सद्‌भाव समूहका संयोजक तथा उप-संयोजकहरूले ‘साझा सद्‌भाव समूह-न्यूयोर्क’ र अमेरिकाका सबै राज्यका ‘साझा सद्‌भाव समूह’का संयोजकहरूले ‘साझा सद्‌भाव समूह-अमेरिका’ गठन गर्न सक्नुहुनेछ। आवश्यकता अनुसार अन्य पद पनि सृजना गर्न सक्नुहुनेछ।
– विदेशमा त्यसरी निर्माण हुने सद्भभाव समूहहरूलाई भातृ संगठन भनिने छैन तर तिनमा संलग्न नेपाली नागरिकहरूले पार्टीको सदस्यता लिन र पार्टी महाधिवेशनमा साझा सद्भाभाव समूहमा आवद्ध सदस्यहरूको संख्याका आधारमा तोकिएको संख्यामा प्रतिनिधि पठाउन सक्नेछन् ।
– त्यसरी निर्माण हुने साझा सद्‌भाव समूहसँग समन्वय गर्न साझा पार्टीको केन्द्रीय कार्यालयमा एउटा छुट्टै डेस्क स्थापना गरिएको छ जहाँ तपाईं (00977) 9851253001 या 002 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ ।
हामीले शुरूशुरुमा फोनको अत्यधिक चाप हुने अपेक्षा गरेका छौं । फोन व्यस्त भएमा धैर्य गरेर अर्को समयमा पुन: फोन गर्न विनम्र आग्रह गर्दछौं । फोनमा सम्पर्क नभएपनि हामी हाम्रो काम गरिरहने छौं र तपाईं आफ्नो काम गरी नै रहनुहोला । दुबैतर्फको सुकार्यको अवश्य भेट हुनेछ र परिणाम सुखद नै हुनेछ ।
विदेशमा ४० देखि ५० लाख नेपालीहरु हुनुहुन्छ र तपाईंको सहयोग, समर्थन र सद्‌भावबिना हामी यो देशको मुहार फेर्ने कल्पनै गर्न सक्दैनौं । हामी तपाईंको विश्वास र आशीर्वाद चाहन्छौं । साझा  पोष्ट बाट