काठमाडौं, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एक स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताएका छन् ।
प्रधानमन्त्रीले भने, ‘कञ्चनपुर घटनामा सरकारले ध्यान दिएन भन्ने प्रचार पूर्णतः गलत हो । घटना घटेलगत्तै भारतीय दूताबासका कर्मचारी बोलाएर मैले घटनाको अनुसन्धान र कार्वाहीका लागि निर्देशन दिएको छु । परराष्ट्र मन्त्रालयले लगातार कुटनीतिक सम्वाद गरिरहेको छ । गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट गरिएको छ ।
आज नै घटनाको विषयमा माननीय गृहमन्त्रीजीले संसदमा सम्बोधन गर्दै हुनुहुन्छ । दोषीलाई कार्वाही गर्न सरकार प्रतिवद्ध छ । नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो । हाम्रो स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण हामीलाई मान्य छैन ।’ घटनाको बारेमा आफू जानकार रहेको बताउँदै प्रधानमन्त्रीले समस्या समाधानका लागि सरकार निरन्तर लागिरहेको बताए ।