काठमाडौं २७, फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एक स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताउनु भएको छ ।
घटना घटेलगत्तै भारतीय दूताबासका कर्मचारी बोलाएर मैले घटनाको अनुसन्धान र कार्वाहीका लागि निर्देशन दिएको छु । परराष्ट्र मन्त्रालयले लगातार कुटनीतिक सम्वाद गरिरहेको छ । गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट गरिएको छ । आज नै घटनाको विषयमा माननीय गृहमन्त्रीजीले संसदमा सम्बोधन गर्दै हुनुहुन्छ । दोषीलाई कार्वाही गर्न सरकार प्रतिवद्ध छ । नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो । हाम्रो स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण हामीलाई मान्य छैन ।’
घटनाको बारेमा आफू जानकार रहेको बताउँदै प्रधानमन्त्रीले समस्या समाधानका लागि सरकार निरन्तर लागिरहेको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘स्थितिको बारेमा मैले लगातार स्थानीय प्रशासन र राजनीतिक दलका नेताहरुसँग कुरा गरिरहेको छु । गोविन्द गौतमलाई शहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ ।
परिवारलाई तत्काल १० लाख राहत र गौतमका २ छोरीको शिक्षादीक्षाको व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ । घटनाको गम्भीर रुपले छानविन हुन्छ र दोषीमाथि कार्वाही हुन्छ । यसमा सरकार गम्भीर मात्रै होइन, निकै संवेदनशील छ ।’
माओवादी केन्द्र सात नम्वर प्रदेशका ईन्चार्ज लेखराज भट्टद्वारा बुझाएको ज्ञापनपत्रमा गोविन्द गौतमलाई राष्ट्रिय शहिद र सम्मान गर्न, मृतकका परिवारलाई ५० लाख राहतको व्यवस्था गर्न, घाइतेहरुको निशूल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्राष्ट्रिय अदालतमा गएर भएपनि सजाय गर्न, गोविन्द गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।