काठमाडौँ, २७ फागुन । “नारी र पुरुषबिचको सहअस्तित्व र अन्तरसम्बन्ध प्रगाढ बने मात्रै जीवन सफल र सुमधुर हुन्छ” नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानको समालोचना तथा निबन्ध विभागद्वारा १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित विशेष विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो ।
प्रतिष्ठानकी समालोचना तथा निबन्ध विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ प्रा.डा. ज्ञानू पाण्डेले ‘‘समाजले चाहेअनुरुपको उपलब्धि अझै नभइरहेको” उल्लेख गर्नुहुँदै “नारी र पुरुष दुईटैले जितेको संसार निर्माणमा नारी दिवसले सहयोग पु¥याउने” विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा समालोचक तथा अनुवादक बलराम अधिकारीले गोष्ठीको शीषर्कमा आधारित रहेर अवधारणापत्र प्रस्तुत गर्नुभयो । अधिकारीको अवधारणापत्रले ‘नारीशक्ति अपार रहेका’ उल्लेख गर्दै साहित्यमा चाहिँ प्रभावकारी रूपमा त्यसको प्रभाव नदेखिएको निचोड रहेको थियो ।
त्यसै गरी कार्यक्रममा वरिष्ठ लैङ्गिक विज्ञ प्रा.डा. चन्द्रा भद्राले विशेष प्रवचन दिनु भयो । “नारीलाई कुनै पनि निकायमा सहभागिता नदिई गरिएको कार्य फलदायी नहुने” विचार व्यक्त गर्दै उहाँले “आम महिलाको जीवनशैली र दैनिकी हेर्दा नै नारीशक्ति र सामथ्र्यबारे प्रष्ट हुने” सुनाउनु भयो ।
प्रा.डा. पे्रमशान्ति तुलाधरको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा प्रा.डा. विष्णु एस राई, प्रा.डा. विणा पौडेल,सञ्चारकर्मी एवम् लेखक कपिल काफ्ले र सञ्चारकर्मी नेहा शर्माले विषयवस्तुमाथि सङ्क्षिप्त प्रवचन दिनुभएको थियो ।
गोष्ठीमा प्राज्ञ एवम् कवि श्रवण मुकारुङले ‘आइमाई’ शीर्षकको कविता र कलाकार हरिवंश आचार्यले ‘तिम्रो माया उनान्सय मेरो माया सय…’ बोलको गीत सुनाउनु भएको थियो । सो अवसरमा कुलपति उप्रेतीद्वारा प्रज्ञा–प्रतिष्ठानले प्रकाशन र प्रा.डा. कुमारप्रसाद कोइराला र रत्नमणि नेपालले सम्पादन गरेको ‘नेपालका नारी साहित्यकार’ नामक परिचय कोश विमोचन गरिएको थियो ।