काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुधवार पाँचबुँदे ज्ञापनपत्र बुझाई सो पूरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी दिएको छ ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सप्तरीमा अस्ति भएको घटनामा मारिएकालाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने र घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिनुपर्ने मागसमेत राखिएको बताए ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मोर्चाका मागहरु प्राप्त भएको र सो सम्बन्धमा प्रधानमन्त्रीले सत्ता गठनबन्धन र अन्य दलसँग छलफल गरेर सम्बोधनको पहल गर्ने विश्वास दिलाएको जानकारी दिए । रासस