जनकपुर, २४ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियानलाई अवरोध गर्दा सोमवार सप्तरीमा भएको गोलीकाण्डपछि आक्रोशित बनेका मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्ने खतरा वढेको छ ।
तीनजनाको मृत्युपछि आक्रोशित बनेका आन्दोलनकारीहरुले विहानैदेखि जनकपुरको चोक चोकमा विरोध प्रर्दशन गर्दै सवारीसाधनमाथि ढुंगामुडा समेत गरेका छन् । आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै जनकपुरको पिडारी चोकमा ना ७ ख २२६३ नम्बरको टिपरमा तोडफोड समेत गरेका छन् ।
त्यसैगरी सप्तरीमा सरकारी कार्यालयमा तोडफोड र आगजनी, मनवअधिकार आयोग गाडीमा आक्रमण भएको छ । मंगलबार पनि सप्तरीमा मोर्चाका कार्यकर्ता र प्रहरीका बीचमा झडप भएको छ ।
त्यस्तै नेकपा एमालेको लाहन चोकमा रहेको सिरहा क्षेत्र नं. १ को क्षेत्रीय कार्यलयमा मोर्चाका कार्यकर्ताले तोडफोड र आगजनी छन् ।
जनकपुरमा मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय घेराउ गरेका छन्
त्यस्तै विरगञ्जको घण्टाघर चोमा ना ५ ख १८९५ नम्बरको ट्रक तोडफोड गरेका छन भने कपिलवस्तुमा एमाले पार्टी र अध्यक्ष केपी ओलीका विरुद्धमा नाराबाजी गर्नुका साथै तौलिहवाको मखन होटल र दुई वटा गाडीमा तोडफोड गरेका छन् । मोर्चाले बन्द आह्वान गरेपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।