फगुन २३, काठमाडौं । राष्ट्रिय पशुपालक दुग्ध कृषक समाजले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । सरकारले कृषि र पशुपालनको क्षेत्रलाई उच्च प्राथमिकता दिएको र राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्रीलाई सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दै प्रधानमन्त्रीले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताउनु भयो । कृषि क्षेत्र देशको मेरुदण्ड भएपनि राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि सरकारको तर्फबाट सम्भव निर्णय गरिने जानकारी गराउनु भयो ।
सम्मान कार्यक्रममा समाजले सहुलियत कृषक कर्जाको व्यवस्था गर्न, पशु बीमा कार्यक्रमलाई किसानहरुको सहभागितासहित व्यवस्थित गर्न, राष्ट्रिय किसान आयोगमा वास्तविक किसानहरुको प्रतिनिधित्व गराउन, चितवनमा धुलो दुध कारखाना स्थापना गर्न, सबै जिल्लामा पशु प्रयोगशाला स्थापना गर्न, कृषिसँग सम्बन्धित ढुवानीका साधनहरुमा भन्सार छुटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।