फागुन २१, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को हेडक्वार्टर बैठक शनिबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले सरकारलाई विभिन्न सुझावहरु दिएको छ ।
बैठकले स्थानीय तहको पूनर्संरचनाबारे सुझाव दिन मन्त्रीपरिषदले गठन गरेको कार्यदलको रिपोर्ट बुझ्न सरकारलाई बुझाएको छ । त्यसैगरी स्थानीय तहको संख्या बढाएर भए पनि मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागिताका लागि अधिकतम् पहल गर्न बैठकले सरकारलाई सुझाव दिएको छ ।
बैठकले निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित, भयरहित बनाउन र स्थानीय तहको निर्वाचनमा होमिन सम्पूर्ण राजनीतिक दललाई अपील गर्दै आन्दोलनरत मधेशी मोर्चालाई आफ्ना माग शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाले राख्न आग्रह गरेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।