दाङ २१ फागुन । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले पत्रकारको पारिश्रमीकमा कसैसंग कुनै सम्झौता हुन नहुने वताएका छन् । हरेक पत्रकारले श्रम अनुसारको पारिश्रमिक पाउनै पर्ने वताएका पोखरेलले यो वा त्यो बहानामा पारिश्रमिकमा सम्झौता गर्न नपाईने बताए । ‘पत्रकारहरुको पारिश्रमिकमा कुनै सम्झौता हुन्न,’नेपाल पत्रकार महासंघ दाङको अधिवेशनबाट निर्वाचितहरुलाई बधाईदिन शनिवार आयोजित कार्यक्रममा बोल्दै पोखरेलले भने ‘हरेक पत्रकारले श्रमजिवी पत्रकार ऐनले तोकेको सुविधा पाउनै पर्छ ।’ पत्रकार महासंघको आगामी केन्द्रीय अध्यक्षको तयारी गरिरहेका पोखरेलले श्रमजीवी पत्रकार ऐनले तोकेको व्यवस्था कार्यान्वयन गराउने आफ्नो पहिलो मिशन रहेको समेत वताए ।
लोकतान्त्रीक विधीमा मात्रै प्रेस स्वतन्त्रताको रक्षा हुन सक्ने भन्दै नेपाल प्रेस काउन्सिलका पूर्व सदस्य समेत रहेका पोखरेलले पत्रकारीता मजवुत बनाउन लोकतान्त्रीक विधीलाई पछ्याउनु पर्ने वताए । उनले लोकतान्त्रीक विधीलाई मजवुत पार्ने अर्को महत्वपूर्ण बिषय अद्यावधिक निर्वाचन रहेको बताए । यो निर्वाचनका पक्षमा माहोल बनाईनु पर्ने आवश्यक्ता समेत उनले औँल्याए । उनले भने ‘लोकतान्त्रीक विधीमा मात्रै प्रेस स्वतन्त्रता मजवुत हुन्छ,यसर्थ लोकतन्त्रलाई बलियो बनाउने महत्वपूर्ण सुत्र स्थानीय निर्वाचन पनि हो,यो निर्वाचनलाई प्रेस स्वतन्त्रताको बलियो आधारमा रुपमा ग्रहण गर्दै यसको पक्षमा माहोल बनाईनु पर्छ ।’ पोखरेल नेपाल पत्रकार महासंघ दाङको अधिवेशनबाट सर्वाधिक मत प्राप्त गरि केन्द्रीय पार्षदमा निर्वाचित भएका छन् ।