फागुन २१, काठमाडौं । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन र निर्वाचन नचाहने अतिवादी प्रवृत्तिको केन्द्र एउटै भएको बताउनु भएको छ ।
स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले स्थानीय तहको निर्वाचन नगर्ने हो भने मंसीरमा प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिँदैन । संघीयता नचाहने र मन नपराउनेहरु स्थानीय तहको निर्वाचन नहोस् भन्नेमै छन् । सिंहदरबारको अधिकार गाउँ, टोलसम्म पुगेको उनीहरु देख्न चाहँदैनन् । संविधानको जननी माओवादी हो, रगतसँग साटिएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि माओवादीकै हो, त्यसैले स्थानीय तहको निर्वाचन कुनै हालतमा रोकिँदैन, रोक्न सकिँदैन ।’
कामिडाँडा नेपाली राजनीतिको स्मरणयोग्य ठाउँ भएको प्रधानमन्त्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘१२ बूंदे सम्झौता भएको थियो, जनआन्दोलन भएको थियो । तर, शान्ति सम्झौता भएको थिएन । युद्धलाई क्रान्तिकै बाटोमा अघि बढाउने वा शान्ति प्रक्रियामार्फत् स्थायित्व दिने भन्नेमा ठूलै बहस थियो । मैले अन्तिमपटक जनमुक्ति सेनालाई सुप्रिम कमाण्डरका हैसियतले यहीँ निर्देशित गरेको थिएँ । यहीँको बैठकले देशमा शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र र नयाँ संविधान भयो । त्यसैले कामिडाँडा नेपाली राजनीतिको असाध्यै स्मरणयोग्य ठाउँ हो ।’
माओवादी केन्द्रका नेताहरु अमिक शेरचन, कमानसिंह लामा, सूर्यमान दोङ लगायतका वक्ताहरुले माओवादी पार्टी र आन्दोलनले मात्रै देशको परिवर्तन र समृद्धिको नेतृत्व गर्नसक्ने बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्रीले काभ्रेका सहिद र बेपत्ताका परिवारहरुलाई सम्मान गर्नुभएको थियो ।
१७५ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
जनसभामा विभिन्न पार्टी परित्याग गरी १७५ जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवआगन्तुक नेता, कार्यकर्तालाई खादा र अबिर लगाएर प्रचण्डले स्वागत गर्नुभएको थियो । गमप्रसाद तिमिल्सिना, दुर्गाबहादुर तिमिल्सिना, सुकदेव दाहाल, स्वस्तान तामाङ लगायतका ७५ जना नेता, कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने बिरबहादुर वाइवा, नारायण सापकोटा, चुडामणि तिमिल्सिना लगायत ११० जना नेता कार्यकर्ता एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।