फागुन २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय बित्तमन्त्री अरुणकुमार जेट्लीले भेट गर्नुभएको छ । जेट्लीले शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो ।
प्रधानमन्त्रीले नेपाल सरकार संविधान कार्यान्यवनका लागि क्रियाशील रहेको जेट्लीलाई जानकारी गराउनु भयो । संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने जानकारी दिँदै प्रधानमन्त्रीले नेपालका राजनीतिक दलहरुको एकता र सहकार्यका आधारमा आफू अगाडि बढिरहेको बताउनु भयो ।
भेटमा बित्तमन्त्री जेट्लीले नेपालजस्तो देशका लागि प्रत्यक्ष वैदेशिक लगानी निकै महत्वपूर्ण हुने भन्दै नेपालमा आयोजना गरिएको लगानी सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गर्नुभयो । जेट्लीले आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने भन्दै नेपालले हासिल गरिरहेको आर्थिक विकासमा भारत सहकार्य गर्न तयार रहेको बताउनु भयो ।