काठमाडौं, १९ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताएका छन् ।
अहिलेको संविधान मान्दैनौं भन्दा मुलूक उल्टो दिशातिर जानसक्ने खतरा औल्याउँदै प्रधानमन्त्रीले भने, ‘संविधान जारी गर्ने बेला मेरो पार्टीले पनि आठ बूंदे असहमति दर्ज गरेको छ । तर, अहिलेको संविधान पनि मान्दैनौं भनेर हामी नै यो संविधानको विरुद्ध लाग्दा त्यसको परिणाम के होला रु तपाईहरु सोच्नुहोस्, भुईंको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन । अहिलेको संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहन्छ । के तपाई हामीले चाहेको त्यही हो त ? होइन भने अहिले प्राप्त गरेका अधिकारलाई जोगाउँदै अगाडि बढ्नु राम्रो हुन्छ ।’
सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले भने, ‘आदिबासी जनजाति प्रतिष्ठान खारेज हुँदैन, त्यसमा तपाईहरु ढुक्क हुनुस् । स्थानीय तहको पूनर्संरचनामा पनि धेरै अधिकार समावेश गरिएको छ । अरु कुरा अब टुङ्गिन्छ । तर, नाम र स्थानीय तहको केन्द्र त्यहीँको संसदले तोक्छ, जनतालाई नै अधिकार दिएपछि तपाईहरुको भावना पनि समेटिन्छ ।’
भेटमा आदिबासी जनजातिका प्रतिनिधिहरुले आदिबासी जनजाति उत्थान प्रतिष्ठान यथावत राख्न, जनजाति मन्त्रालय गठन गर्न, स्थानीय तहमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था गर्न, आदिबासी अधिकारसहित संविधान संशोधन गर्न, स्थानीय तहको सीमा निर्धारण गर्दा पहिचान जडित क्षेत्रलाई खण्डित नगर्न र स्थानीय तहको निर्वाचनअघि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।