काठमाडौँ, १८ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताएका छन् ।
उनले राष्ट्रिय एकताविरुद्धको कपटसँग संशोधन सम्बन्धित रहेको दाबी गर्दै प्रस्ताव पारित हुन नदिइने उल्लेख गर्दै भने, “तराई र पहाड पूर्णरुपमा अलग गर्ने उद्देश्य यसमा छ, यो बिल्कुल हुन दिइने छैन ।” पारित नहुँदा निर्वाचनमा नजाने वा पारित हुँदा पनि नमान्ने हो भने किन छलफलमा ल्याउनुप¥यो ?”
एमाले मधेस विरोधी छ भनेर जनतामा भ्रम फैलाइएको गुनासो गर्दै उनले आफ्नो नेतृत्वको सरकारले सम्भवतः अहिलेसम्मकै बढी बजेट मधेसमा विनियोजन गरेको दाबी गरे ।
उनले भने, “संविधान संशोधन नहुँदा जनता अधिकारविहीन हुन्छन् भनेर सिकाइएको छ तर जनताको अधिकारसँग यो संशोधनको कुनै सम्बन्ध छैन । उल्टै स्थानीय तहको अधिकार कटौतीका प्रस्ताव ल्याइएको छ ।”