काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चीनियाँ राजदूत यु होङले भेट गरेका छन् । आज मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र होङबीच स्थानीय निर्वाचन र नेपालको पूर्वाधार विकासका विषयमा कुराकानी भएको थियो ।
प्रधानमन्त्रीले सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा रहेको बताउँदै त्यसका लागि चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरे। भेटमा प्रधानमन्त्रीले वान बेल्ट, वान रोडअन्तर्गतका विकासका कार्यक्रमहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे ।
भेटमा चीनियाँ राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त हार्दिक रहेको बताउँदै नेपालको पूर्वाधार विकासका कार्यक्रमहरु सकारात्मक रुपमा अगाडि बढिरहेको र आगामी दिनमा थप तिब्रता दिइने बताए। नेपालको राजनीतिक र संविधान कार्यान्वयनको प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको बताउँदै होङले त्यसमा चीनको सदैव सद्भाव रहने बताए।