काठमाडौ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन मिति घोषणा नगर्न मधेसी मोर्चाले चेतावनी दिएको छ । आइतबार निर्वाचन मिति घोषणाको तयारी गरिरहेका दाहाललाई शनिबार आफ्नै निवासमा भएको बैठकमा मोर्चाको यस्तो धम्की आएपछि स्थानीय निर्वाचनको भविष्य अनिश्चित बनेको छ ।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले अन्नपूर्णसँग भने, ‘मैले यसअघि पहिलोपल्ट प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणमा राजीनामा दिएको थिएँ । आज प्रमुख प्रतिपक्षी दल निर्वाचनको पक्षमा र सरकारसमर्थक मधेसी मोर्चा संविधान संशोधन भन्दै संविधान कार्यान्वयनमा अवरोध गर्नुहुन्छ भने पदबाट राजीनामा दिन्छु ।ु बैठकमा प्रधानमन्त्री दाहालले केही समयपछि पद छाड्नै पर्ने भएकाले आफू विवादमा फस्न नचाहेको, पदमा रहुन्जेल राष्ट्र र जनताका पक्षमा काम गर्ने उद्देश्य मात्र रहेको बताएको झाले जानकारी दिए ।
‘म केपी ओलीजस्तो पहाडिया होइन, म हिमाल, पहाड र तराई हुँदै सिंगो राष्ट्रको प्रधानमन्त्री हुँ, झाले प्रधानमन्त्रीको भनाइ सुनाए । बैठकमा प्रधानमन्त्रीले आफू मोर्चाभन्दा कम परिवर्तनकामी नभएको दाबी गर्दै मधेस आन्दोलनमा पाँच दर्जनको हत्या हुँदा १० वर्षे जनयुद्धमा तराईका १३ सयले बलिदान दिएको उल्लेख गरेका थिए । दाहालले आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचन मिति घोषणा गर्ने जानकारी मोर्चालाई दिएको स्रोतले बतायो ।
‘तपाईं कांग्रेस, एमाले र माओवादीका लागि स्थानीय निर्वाचन घोषणा गर्नुहोस्, हामी मधेस र मधेसीको शक्तिमा आन्दोलन गर्छौुं, प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाउँदै तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता हृदयेश त्रिपाठीले चेतावनी दिँदै भने, ‘दाहालजीको रुने, रुवाउने, हाँस्ने र हँसाउने कलाले मधेसी आफ्ना संवैधानिक अधिकारबाट पछि हट्दैनन् ।
तत्कालै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन घोषणा नभए देश ठूलै राजनीतिक संकटमा फस्छ भन्दै आइतबार नै कांग्रेस, एमाले, माओवादी र मोर्चाको बैठक अपरिहार्य रहेको प्रस्ताव राखेका थिए । अन्नपूर्ण पोष्टबाट