काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहलगायत तीन तहका निर्वाचन गराउन आजको आवश्यकता भएको बताएका छन् । निर्वाचन दिवसको अवसरमा आज राजधानीमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन गर्नु र गराउनु संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष भएको बताएका हुन् ।
नेपाल सरकारले मन्त्रीपरिषदको बैठकबाटै निर्वाचन आयोगलाई आगामी बैशाख अन्त्यसम्म निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न पत्राचार गरिएको उल्लेख गर्दै प्रचण्डले रिक्त रहेका निर्वाचन आयुक्तहरुको पदपूर्तिले पूर्णता पाएको सन्दर्भमा अब निर्वाचनप्रति आशङ्का गरिरहनु जरुरी नरहेको बताए ।