मोरङ, ५ फागुन । राजघाटमा आज बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन्। घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टङ्कलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर कटवाल रहेका छन्।
बिहान ८ बजे हलो जोतेर डोरी लिन जाँदा चितुवाले आफूलाई एक्कासी आक्रमण गरेको घाइते टङ्कलालले बताए। टङ्कलाललाई चितुवाले टोकेको खबर पाएपछि घटनास्थल पुगेका खुसीलाललाई पनि चितुवाले आक्रमण गरेको थियो। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
चितुवालाई नियन्त्रणमा लिन सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेबाट घटनास्थलमा पुगेका कर्मचारीद्वय न्यौपाने र कटवाललाईसमेत चितुवाले आक्रमण गरेर समान्य घाइते बनाएको प्रहरीले जनाएको छ।
अहिले चितुवालाई मानववस्तीमा पस्न नदिनका लागि सुरक्षाकर्मीको टोलीले सुरक्षाघेरा बनाएका छन् भने विशेषज्ञसहितको वनरक्षक टोलीले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। रासस