फाल्गुण ४ पाँचथर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कुनै शक्ति चाहेर पनि निर्वाचन रोक्न नसक्ने बताउनु भएको छ । बुधबार दिउँसो पाँचथरको फिदिममा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
निर्वाचनले मात्रै जनताको अधिकार व्यवहारिक रुपमा कार्यान्वयन हुने प्रधानमन्त्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिलेको स्थानीय तह स्थानीय निकायजस्तो होइन । अहिलेको स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरिएको छ । अहिलेका गाउँपालिका र नगरपालिका धेरै नै शक्तिशाली छन् । लालपूर्जा, नागरिकता, पासपोर्टजस्ता महत्वपूर्ण काम अब स्थानीय तहबाटै हुनेछन् । यो सामान्य कुरा पक्कै होइन । तसर्थ, जनताका अधिकार संस्थागत गर्न निर्वाचन गर्नैपर्छ । स्थानीय तहको निर्वाचन गरेर शासन र अधिकार जनताको घरदैलोमा लैजानैपर्छ ।’
सरकार संविधान कार्यान्वयन र आर्थिक समृद्धिको संकल्पमा रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारको मूख्य ध्यान संविधान कार्यान्वयन र आर्थिक समृद्धिमा छ । मैले यस दिशामा लगातार प्रयत्न गर्दै आएको छु । उर्जाशील देखेर नै जनार्दनजीलाई उर्जा मन्त्रालयको जिम्मा दिएँ । विद्युत प्राधिकरणमा कुलमानलाई जिम्मा दिएँ । सही मान्छेलाई सही ठाउँमा जिम्मा दिए परिणाम आउँदो रहेछ । यो सरकारले देशको पक्षमा, विकासको पक्षमा, विदेशमा भएका नेपालीको पक्षमा थुप्रै काम गरेको छ । सरकारले समृद्धिको सुरुवात गरेको छ । तर, सरकारसामू अरु अप्ठ्यारोहरु छन् । हामीले राम्रो काम गरेको देखेर केही शक्तिहरु आत्तिएका पनि छन् । तर, सरकार र माओवादी संविधान कार्यान्वयन र आर्थिक समृद्धिमा अगाडि बढ्छ, कसैले रोकेर रोकिँदैन ।’
जनसभामा उर्जामन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताउनु भयो । शर्माले भन्नुभयो, ‘नेपालको संविधान प्रगतिशील छ, त्यसमा जनताका धेरै हकहरु समावेश छन् । अब त्यसलाई कार्यान्वयन गर्न देशमा निर्वाचनको खाँचो छ । संविधानले स्थानीय तहलाई धेरै अधिकारको व्यवस्था गरेको छ । अब निर्वाचनले स्थानीय तहमा विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने वातावरण बन्ने छ ।’
मन्त्री शर्माले भन्नुभयो, ‘जनता विकासका भोका छन्, संविधानले समाजवादउन्मूख राज्यको परिकल्पना गरेको छ । त्यसको व्यवहारिक कार्यान्वयनका लागि पनि निर्वाचन हुनैपर्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको अभिभावकत्वमा हामीले उज्यालो नेपाल अभियान चलाएका छौं । यो देशका समृद्धि, विकास र रोजगारी सिर्जना गर्ने अभियान हो । हामीले प्रतिपरिवार १ लाखको लगानी सुनिश्चित गरेर हाम्रा आयोजना हाम्रै लगानीमा सम्पन्न गर्दैछौं ।’