काठमाडौँ, २ फागुन । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको उल्लघंन हुनेगरी समाचार प्रसारण गरेको भन्दै ४८ घण्टाभित्र जवाफ पेश गर्न लाइट नेपाल डटकमसँग स्पष्टीकरण मागेको छ ।
काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण बोहराद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ — “तहाँ अनलाइनबाट २०७३ माघ २९ गतेको अंकमा ‘संगठन बचाउन प्रहरीभित्र विद्रोहको संकेत, प्रहरी महानिरीक्षकको कार्यालय र निवास कब्जा’ शीर्षकमा प्रहरी संगठनभित्र एउटा समूहले भेला गरी आवश्यक परे विद्रोहमा जाने योजना बनाएको र प्रहरी अधिकारीको गोप्य बैठकले महानिरीक्षकको सचिवालय र निवासमा तालाबन्दीसम्म गर्न पछि नपर्ने निर्णय गरेको भनी समाचार प्रकाशन गरेको पाइयो ।
मुलुकको शान्ति सुव्यवस्था र सुरक्षामा महत्वपूर्ण भूमिका निभाउने नेपाल प्रहरीजस्तो संवेदनशील सुरक्षा निकायका विषयमा सम्प्रेषित यस्तो बनावटी र प्रायोजित समाचारबाट आम जनतामा भय र त्रास सिर्जना हुनुका साथै प्रहरीको आन्तरिक चेन अफ कमाण्ड र अनुशासनमा गम्भीर असर पारेको पाइयो ।
त्यस्तो सामाचार सामग्रीबाट पत्रकार आचारसंहिता २०७३ को दफा ५(१), (३) र (१२) उल्लंघन भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको हुँदा यस्ता समाचार सामग्री सम्प्रेषण नगर्नु÷नगराउनु हुन र उपरोक्त सम्बन्धमा ४८ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशानुसार जानकारी गराइन्छ ।”