काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६, नोभेम्वर २ देखि १५ सम्म मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप घोषणा गरिएको नगद पुरस्कार सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।
३ लाख नगदद्वारा पुरस्कृत हुने खेलाडीहरुमा क्याप्टेन अनिल गुरुङ, भाइस क्याप्टेन बिराज महर्जन, खेलाडीहरु बिकेश कुथु, रबिन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, बिमल घर्तिमगर, बिशाल राई, रञ्जन बिष्ट, हेमन गुरुङ, बिक्रम लामा, कमल श्रेष्ठ, अञ्जान बिष्ट, सुजल श्रेष्ठ, किरणकुमार लिम्बु, सुमन लामा, नवयुग श्रेष्ठ, देवेन्द्र तामाङ, बिशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल, रञ्जित धिमाल र मूख्य प्रशिक्षक ग्वोतुकु कोजी रहेका छन् ।
खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदले देशलाई भावनात्मक रुपमा एकतावद्ध बनाउने बताउनुभयो । प्रधानमन्त्रीले भने ‘तपाईहरुले हासिल गरेको विजयले देशको गौरव बढाएको छ । देशलाई भावनात्मक रुपमा एकतावद्ध गरेको छ ।
कहिलेकाहीँ राजनीतिमा आउने विवाद र उतारचढावलाई सहमति र एकतामा बदल्न पनि तपाईहरुको विजय र एकताले प्रेरणा मिल्ने गरेको छ । हामी संविधान कार्यान्वयन र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा छौं, यसमा तपाईहरुको विजय र भावी यात्राले थप प्रेरणा दिनेछ ।’