काठमाडौँ, २ फागुन । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकार आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्न केन्द्रित भएकाले निर्वाचनको तयारीमा जुट्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयका सचिव, सहसचिव र विभागीय प्रमुखलाई आज कार्यकक्षमा बोलाएर उहाँले निर्वाचित भएर आउने जनप्रतिनिधिको क्षमता विकास गर्न आवश्यक तालिम र अभिमुखीकरणको तयारी गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिका, गाउँपालिका र वडा कार्यालयलाई व्यवस्थित गर्न गर्न अहिलेदेखिनै पूर्वाधारको व्यवस्थापन गर्नुपर्छ, दुई महिनाभित्रै कार्यालय भवन बनाइसक्ने गरी काम गर्नुहोस् ।” मन्त्री पाण्डेले कार्यालय भवन बनाउँदा स्थानीयस्तरमा उपलब्ध सामग्रीको समूचित प्रयोग गर्न पनि निर्देशन दिनुभयो ।
लक्षित वर्गले समयमै सामाजिक सुरक्षा भत्ता पाउन नसकेको र रकमको हिनामिना भएको जनगुनासो व्यापक आएको भन्दै उहाँले अनिवार्य रुपमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित बनाउन राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्नसमेत जोड दिनुभयो ।
विगतमा आर्थिक वर्षको अन्त्यमा मात्रै विकास निर्माणका कामको चाप बढ्ने गरेको पाइएको भन्दै उहाँले समयमै योजना सम्झौता गरी पुँजीगत खर्च बढाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “योजना सम्झौता गर्न र कार्यान्वयनमा किन ढिलाई भइराखेको छ, कारण खोज्नुहोस्, समयमै योजना सम्पन्न गर्न ताकेता गर्नुहोस्,त्यति गर्दापनि योजना सम्पन्न नभए ठकेदारलाई कारबाही गर्नुहोस् ।” उहाँले यही फागुन १५ गतेभित्र योजना सम्झौता गरिसक्नुपर्ने बताउनुभयो ।
समयमै योजना सम्पन्न नगरी निर्माण अवधि थप्ने, योजना सम्पन्न गर्न ढिलाइ गर्ने प्रवृत्ति रोक्नुपर्ने बताउँदै उहाँले योजना कार्यान्वयन गर्न विभिन्न ऐन, कानुन, कार्यविधिले रोकेको भए त्यसलाई संशोधन गरेर लैजान पनि निर्देशन दिनुभयो ।